घोराही समाचारदाता
घोराही, वैशाख १७ गते । दाङमा सामुदायिक वन समूहले काठ उत्पादनसँगै अन्य विकल्प अपनाएर रोजगारी सिर्जनासँगै आयआर्जन गर्न थालेका छन् । वन संरक्षण गरेर काठ, दाउरा उत्पादन गर्दै आएका सामुदायिक वनले जङ्गलमा खेर जाने घाँस र पातपतिङ्गरबाट जैविक मल उत्पादन गरेर आयआर्जन गर्न थालेका हुन् ।
दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने घाँस र पातपतिङ्गरलाई उपयोग गरेर प्राङ्गारिक मल उत्पादन गर्न थालेको छ । अजम्बरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले वन क्षेत्रमा जलेर, कुहिएर नष्ट हुने घाँस, स्याउला सोत्तरलाई उपयोग गरेर गत वर्षदेखि प्राङ्गारिक मल उत्पादन गर्न थालेको बताउनुभयो ।
अध्यक्ष रिजालका अनुसार पातपतिङ्गरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी वन समूह अघि बढेको छ । पातपतिङ्गर व्यवस्थापनलाई दिगो बनाउन आम्दानीसँग जोडेर प्राङ्गारिक मल उत्पादन थालेको भन्दै अध्यक्ष रिजालले भन्नुभयो । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि अजम्बरी सामुदायिक वन क्षेत्रमा लागेको छैन ।
वन व्यवस्थापनमा आधारित कार्यक्रम अन्तर्गत समुदायिक वन अध्ययन केन्द्रले प्राङ्गारिक मल उत्पादनका लागि औजार सहयोग गरेपछि वन समूह मल उत्पादनमा जुटेको हो । वन समूहले प्राङ्गारिक मल उत्पादन गर्न थालेपछि स्थानीय सात जनाले रोजगारीसमेत पाएका छन् ।
अध्यक्ष रिजालले वन जङ्गलमा सुकेको पातपतिङ्गरसँगै गाईभैँसीको गोबर सङ्कलन गरेर प्राङ्गारिक मल उत्पादनका लागि स्थानीयलाई रोजगारी मिलेको बताउनुभयो । उहाँका अनुसार वन समूहले प्राङ्गारिक मल उत्पादन गरेर किसानलाई बिक्री गर्ने गरी काम सुरु गरे पनि अहिले थोरै उत्पादन भएको र उक्त मल वन समूहले सञ्चालन गरेको हरित पार्कमा बिरुवा हुर्काउन प्रयोग गरिएको छ ।
डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले वन व्यवस्थापन कार्यक्रम अन्तर्गत पर्यटन प्रवर्धनसँगै पछिल्लो समय जङ्गलमा खेर जाने घाँस र पातपतिङ्गरलाई सदुपयोग गरेर प्राङ्गरिक मल उत्पादन गरेर अजम्बरी सामुदायिक वन समूहले नमुना काम गरिरहेको बताउनुभयो ।
मल उत्पादनसम्बन्धी काम गर्दै आउनुभएका लमही नगरपालिका–५, लमही निवासी मैते पुनले प्राङ्गारिक मल तयार गर्नका लागि आवश्यक गोबरको जोहोका लागि छाडा चौपाया व्यवस्थापनसमेत गरिएको बताउनुभयो ।