चाँदनी आचार्य
घोडाघोडी(कैलाली), वैशाख १२ गते । विसं. २०७२ वैशाख १२ गते शनिबार बिहान ११ः५६ बजे गएको भूकम्प विसं. १९९० को महाभूकम्प पछिको ठुलो भूकम्प थियो । गोरखा जिल्लाको पारपाकलाइ केन्द्र विन्दु बनाई ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प सबैभन्दा ठुलो र विनासकारी भूकम्प रहेको जनाइएको छ । भूकम्पमा परी करिब आठ हजारको मृत्यु भएको थियो भने १६ हजारभन्दा बढी घाइते भएको तथ्याङ्क उल्लेख छ ।
उक्त भूकम्प गएको एक दशक भएको छ । त्यसयता नेपालमा चार रेक्टर स्केलभन्दा माथिका थुप्रै भूकम्प र पराकम्प गएको रेर्कडमा उल्लेख छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले हालसम्म गरेको भूकम्पको रेर्कड अनुसार १९९० यता चार रेक्टर स्केलभन्दा ठुला एक हजार २५७ वटा भूकम्प गएको छ ।
केन्द्रका भूकम्पविद् तारा पोख्रेलले २०७२ साल वैशाख १२ गतेदेखि हालसम्म नेपालमा ८३७ पटक चार रेक्टर स्केलभन्दा माथिको भूकम्प गएको बताउनुभयो । उहाँले साना ठुला सबै गरेर नेपालमा ५५ हजारभन्दा धेरै पटक भूकम्प गएको उल्लेख गर्नुभयो । २०७२ सालको गोरखाको भुकम्पनै सबैभन्दा ठुलो भूकम्प भएको जानकारी दिनुहुँदै भूकम्पविद पोख्रेलले गोरखा केन्द्रविन्दु बनाएर हालसम्म ६०२ पटक चार रेक्टर स्केलभन्दा माथिको भूकम्प गएको बताउनुभयो ।
२०७२ पछि पनि धनजनको क्षेति हुनेगरी पश्चिम नेपालमा फरक फरक मितिमा विभिन्न जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
भूकम्पविद् पोख्रेलका अनुसार २०७९ साल कात्तिक २२ गते डोटी जिल्लामा केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसैगरी २०७९ माघ १० गते बाजुरा केन्द्रविन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ ।
२०८० असोज १६ गते बझाङ केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो भने २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्पविद् पोख्रेलले जानकारी दिनुभयो । ती विभिन्न समयमा गएको भूकम्पले धनजनको क्षति पुर्याएको छ ।