काठमाडौँ, वैशाख ६ गते । बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि जितेको छ ।
पामले विगतका ६ संस्करणको उपाधि पनि जितेको थियो । २२ स्पर्धा समावेश दुई दिने प्रतियोगितामा पाम सर्वाधिक ११ स्वर्ण, चार रजत र चार कांस्य जित्दै च्याम्पियन बनेको हो । पहिलो दिन सात स्वर्ण जितेको पामले दोस्रो दिन चार स्वर्ण थप्यो ।
नेपाल खेलकुद महासङ्घ (नेकोस) तथा राष्ट्रिय जुडो सङ्घ नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) दोस्रो भयो । एमएमएसीले तीन स्वर्ण, पाँच रजत र चार कांस्य जित्यो । तेस्रो भएको भुटानले दुई स्वर्ण, तीन रजत र दुई कांस्य प्राप्त गरेको छ ।
बाँके र एपीएफ क्लबले समान दुई दुई तथा दाङ र रुसले एक एक स्वर्ण चुम्यो । पुरुषमा एमएमएसीका सदिन तामाङ तथा महिलामा पामकी कृष्णा महतरा उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
खुशिबुँस्थित एमएमएसीको हलमा भएको प्रतियोगिताअन्तर्गत पुरुष २० केजीमुनि विष्णु गिरी, २५ केजीमुनि अस्विन तामाङ, ३५ केजीमुनि बविन कुमाल दियाली, ५५ केजीमुनि दीपेश गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली र ५० केजीमुनि सुरज समलले पामलाई स्वर्ण दिलाउनुभयो ।
पामका लागि महिला २८ केजीमुनि कृष्णा महतरा, ४४ केजीमुनि समिता नेपाली, ५२ केजीमुनि विनिता नेपाली, ३२ केजीमुनि शशिकला थापा मगर र ४८ केजीमुनि रमा समलले स्वर्ण जित्नुभयो ।
एमएमएसीका सुवास विकले पुरुष ३० केजीमुनि, सदिन तामाङले पुरुष ४० केजीमुनि र सरस्था नापितले महिला ५७ केजीमुनि पहिलो स्थान हात पार्नुभयो । भुटानका तेन्जिन दोर्जीले पुरुष ७३ केजीमाथि तथा किन्जाङ डेकीले महिला ६३ केजीमाथि स्वर्ण जित्नुभयो । बाँकेकी खिमा रोकाले महिला ३६ केजीमुनि तथा कविता बुढाथोकीले महिला ४१ केजीमुनि स्वर्ण प्राप्त गर्नुभयो ।
एपिएफका विशेष विकले पुरुष ६६ केजीमुनि तथा रेखा श्रेष्ठले महिला ६३ केजीमुनि शीर्ष स्थान हात पार्नुभयो । त्यस्तै पुरुष ७३ केजीमुनि दाङका पारस रोका मगर तथा ४५ केजीमुनि रुसका डेविड मगोमेदोबले स्वर्ण चुम्नुभयो ।
विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी, आयोजक राष्ट्रिय जुडो सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।