• १ असार २०८२, आइतबार

बागमती प्रदेश सरकारको बजेट आज प्रस्तुत हुने

blog

राममणि दाहाल

हेटौँडा, असार १ गते । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ को वार्षिक बजेट आज आइतबार बागमती प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छन् ।

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सभाको बैठकमा पेस गर्नु हुने कार्यसूची रहेको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार दिउँसो ३ बजे प्रदेश सरकारको आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकोले ३० मिनेट अगावै बैठकमा औपचारिक पोसाकमा उपस्थित हुन प्रदेश सभा सदस्यहरूलाई अनुरोध गर्नुभएको छ ।

मन्त्री काफ्लेले प्रदेशको एकल अधिकारलाई जोड दिएर आगामी आवको बजेट आउने बताउनुभयो । उहाँले उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको बताउनुभयो ।  कृषि, रोजगारीसँगै भौतिक पूर्वाधारलाई बजेटको प्राथमिकतामा राखिने भएको छ ।

उता प्रदेश सरकारको आगामी आवको बजेटको आकार चालु आवको भन्दा बढेर आउने भएको छ ।

२०८०÷०८१ मा कुल बजेट ६२ अर्ब ७९ करोड ९० लाख ७८ हजार बजेट ल्याइएकोमा चालु आव २०८१÷०८२ का लागि बजेटको आकार बढाएर ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँ बजेट ल्याइएको थियो । 

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले सरकारको नीति तथा कार्यक्रमको आधारमा आगामी आवको बजेट आउने भन्दै सरकारको स्रोत नबढ्दाको अवस्थामा पनि धेरै अपेक्षा र माग बढेका कारण चालु आर्थिक वर्षको बजेटको भन्दा आकार बढेर आउने बताउनुभयो ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपाल आगामी आवका लागि योजना माग गर्नेको चाप र दबाब धेरै भएकोले बजेटको आकार बढ्ने अवस्था आएको  बताउनुहुन्छ । 

सङ्घमा तीन करोड रुपियाँभन्दा कमका नयाँ योजना नराख्ने भने पछि त्यसको दबाब प्रदेशमा परेको हो उहाँले भन्नुभयो, यही कारणले पनि बजेटको आकार बढ्ने छ ।

नेपालको संविधानले असार १ गते सातै प्रदेशका सरकारले आ–आफ्नो वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ ।