• २१ असार २०८१, शुक्रबार

डुबान रोक्न नालाको सरसफाइ शुरु

blog

सिराज खान 

नेपालगञ्ज, जेठ २३ गते । वर्षाको समयमा ढल र नाला थुनिएर नेपालगञ्ज जलमग्न हुने देखिएपछि यस पटक यहाँ वर्षा शुरु हुनुभन्दा अगावै ढल र नालाको सरसफाइ गर्न थालिएको छ । ढल र नालामा फोहाेर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले केही ठाउँमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर जेसिभीमार्फत सरसफाइको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । 

केही वडाका नालामा वडा कार्यालय मार्फत पनि नालाहरुको सरसफाइको काम सुरु भएको नेपालगञ्जका नवनिर्वाचित उपमेयर कमरुद्दीन राईले बताउनुभयो । बर्षा शुरु हुनुभन्दा पहिले नै नालाको सरसफाइ गर्न जनताको माग पनि रहेकाले तत्काल सो कार्य शुरु गरिएको बताउनुभयो ।   

उपमहानगरको पहिलो प्राथमिकतामा ठूला र मझौला नाला सफाइ रहेको उल्लेख गर्दै उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले बसपार्कबाट पूर्व, गणेशपुर, बागेश्वरी मन्दिर हुँदै सुर्खेत राजमार्ग आसपास ढल र नाला सरसफाइ गर्ने कार्य शुरु गरिएको जानकारी दिनुभयो । 

जेसिभी लगायत साधनमार्फत नालीको प्लाष्टिकजन्य वस्तु, ढुङ्गा, इँटा, झार, फोहाेर र लेदो हटाउन थालिएको उहाँले जानकारी दिनुभयो । ढल तथा नाला सरसफाइका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।  

यस पटक समयमै नाला र ढलको सरसफाइ गर्न लागिएकाले वर्षाको समयमा पानी परे पनि डुबानको समस्या कम हुने उल्लेख गर्दै सरसफाइ शाखाका प्रमुख डिसीले सरसफाइको काम सकिन १५ दिनभन्दा बढी समय लाग्ने बताउनुभयो । उपमहानगरपालिकामा ढल र नालाको समस्या समाधान गर्न केही दिनअघि नवनिर्वाचित नगरप्रमुख प्रशान्त विष्टले निर्देशन दिनुभएको थियो ।

नेपालगञ्ज बजारबाट मात्रै दैनिक २५ टन फोहरमैला सङ्कलन हुनेगरेको छ । सो फोहाेरमैला उपमहानगरपालिकाको वडा २३ स्थित हिरिमिनियामा व्यवस्थापन गरिंदैआएको छ ।