विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख २ गते। प्रकृतिको संरक्षण गर्नुपर्ने आत्मचेतना तथा आरोग्यको सन्देश दिँदै आएका जुडशीतल पर्व मङ्गलबार मिथिला क्षेत्रमा मनाइएको छ।
तपाईं मधेशको मिथिला क्षेत्रमा प्रत्येक वर्ष वैशाख २ गते मनाइँदै आएको जुड़शीतल, बाइस पावनी र सिरुवा जस्ता नामले प्रचलित छ। यो पर्व सप्तरीमा परिवारका ठुलाबडाले हत्केलाबाट जल दिएर जुडाउँदै मनाइएको हो।
मङ्गलबार बिहानैदेखि घरका सबै भन्दा जेठा व्यक्तिले आफ्ना परिवारजन तथा टोल छिमेकका कनिष्ट व्यक्तिको टाउकोमा हत्केलाले जल दिएर आशिर्वाद दिएका छन्। जल लिएपछि खुट्टा ढोगेर आशिर्वाद लिने चलन रहिआएको छ।
प्राकृति तथा वातावरण संरक्षणसँग सन्दर्भ जेडिएको यस पर्वमा बिहानै पशुपक्षी, वृक्ष, बोटबिरुवा र घरगृहस्थीमा प्रयोग गरिने सन्दुक, आलमारी, बाकस, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी ओखल, मुसल, सिलौटा, लोरा, बाटोघाटो र आफ्नो दैनिक दिनचर्यामा प्रयोगमा आउने सबै वस्तुलाई पानीले जुराउने चलन रहिआएको मिथिला संस्कृतिका जानकार धीरेन्द्र प्रेमर्षी बताउनुहुन्छ।
उहाँले वैशाख महिना लाग्ने वित्तिकै सूर्यको तापमा पनि वृद्धि हुने भएकाले यस पर्वमा मानव जीवन लगायत रुख, बाेट बिरुवाका लागि पनि शीतलताको कामना गर्ने गरिएको जरामा पानि हालेर जुडाउने सांस्कृतिक परम्परा रहेको बताउनुभयो।
जुड़शीतलमा विशेष परिकार
मिथिलाञ्चलमा जुड़शीतलका दिन विशेष परिकार खाने चलन छ। वैशाख १ गते ‘सतुआइन’ अर्थात् सतु खाने दिन नै पकाइएको पुरी र विभिन्न प्रकारका तरुवा सहितका परिकार वैशाख २ गते खाने गरिएकोले यसलाई ‘बाइस पावनी’ अर्थात् बासी खाने दिनको रूपमा पनि लिइन्छ। बासी खानामा ताप नभई शीतल हुने गरेकोले पनि यस दिनमा बासी खाना खाएर शरीरलाई ताप मुक्त बनाउनुका साथै शीतलताको सन्देश यो पर्वले प्रवाह गर्दै आएको बुझिन्छ।
फलको राजा मानिने आँपको टिकुला जुडशीतलकै दिन चाखेर मिथिलाञ्चलमा आँप खाने सुरुवात हुने गरेको पनि मान्यता रहिआएको छ।