• ३ वैशाख २०८२, बुधबार

यु–१९ विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित

blog

विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, वैशाख १ गते । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ ।

मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई नौ विकेटले हरायो । लगातार दोस्रो जितसँगै नेपालले चार अङ्क बनाएको छ । दोस्रो हार खेपेको ओमानले अङ्कको खाता खोल्न सकेको छैन ।

जितका लागि ओमानले दिएको एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नोपलले १४.३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । नेपालका लागि निरजकुमार यादवले सर्वाधिक ४६ रन बनाउनुभयो ।

यस्तै साहिल पटेलले ४३ र कप्तान नरेन भट्टले अविजित १२ र सन्तोष यादवले अविजित १० रन जोड्नुभयो । नेपालको पहिलो विकेटका लागि निरज र शाहिलले ८५ रनको साझेदारी गर्नुभएको थियो । बलिङमा ओमानका सौम्यभविन सम्पतले दुवै विकेट लिनुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । ओमानका लागि जीत व्रजेश शाहले सर्वाधिक ५२ रन बनाउनुभयो । यस्तै सिद्धार्थ सौम्यशंकरले १६ र प्रतिश हेमा रमेशले १० रन बनाउनुभयो । 

बलिङमा नेपालका युवराज खत्रीले पाँच विकेट लिनुभया । उहाँले सात ओभरमा दुई मेडनसहित १५ रन खर्चिएर पाँच विकेट लिनुभएकाने हो । सन्तोष यादवले दुई तथा अपराजित पौडेल, अशोक धामी र दयानन्द मण्डलले एक एक विकेट झार्नुभयो । 


नेपालले यसअघि पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड)का आधारमा पाँच रनले पराजित गरेको थियो । ओमन भने अफगानिस्तानसँग आठ विकेटले पराजित भएको थियो ।

नेपालले तेस्रो खेल बुधबार हङकङसँग खेल्नेछ ।  छनोटमा नेपाल, यूएई, अफगानिस्तान, हङकङ र ओमानको सहभागिता रहेको छ ।