• ३१ चैत २०८१, आइतबार

जात्रा पर्वमा लिङ्गो ठड्याउने परम्परा

blog

लिङ्गो ठड्याएपछि टोखामा पाहाँचरे जात्रा सुरु हुन्छ । वसन्तपुरको हनुमानढोका अघिल्तिर ३२ हातको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ । येँ या पुन्ही अर्थात् इन्द्रध्वजा (लिङ्गो स्थापना) गरेसँगै थानकोट, तकिबुँ त्वाः (टेकानपुर) मा इन्द्रजात्रा थालनी भएको मानिन्छ । भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अन्तिम दिन तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढालिन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो विधिपूर्वक पूजा गरी ढालिन्छ । नौ दिन आठ रातसम्म सञ्चालन हुने बिस्काः जात्रामा चैतको अन्तिम दिन उठाएको ५५ हात लामो लिङ्गो वैशाख १ गते साँझ ढालेर जात्रा मनाउने चलन छ । अर्थात् काठमाडौँ उपत्यकामा लिङ्गो उठाउने जात्रा विशेष महत्त्वका साथ मनाइन्छ । 

जात्रा, पर्वका अवसरमा लिङ्गो ठड्याउने र ध्वजा फहराउने विशिष्ट प्रचलन काठमाडौँ उपत्यकामा रहेको छ तर कतै कतै ध्वजाबिनाको लिङ्गो ठड्याउने र जात्रा मान्ने परम्परा पनि रहेको छ । लिङ्गोलाई नेपाल भाषामा ‘यःसिं’ भन्ने गरिन्छ । खस भाषामा यःसिंलाई लिङ्गो भन्ने चलन पछि मात्र सुरु भएको हो । लिङ्गोमा विशाल ध्वजा, घण्टीसमेत झुन्ड्याउने गरिन्छ । लिङ्गोमा फहराउने ध्वजाहरूमा भैरव, गणेश, चन्द्र, सूर्य, अष्टमङ्गलका चित्र कुँदिएको हुन्छ । ध्वजालाई स्थानीय भाषामा ‘हलिंपताः’ भनिन्छ ।

ध्वजोत्थान गर्ने परम्परा महाभारत युद्ध हुनुभन्दा पहिलेदेखि नै प्रचलनमा आइसकेको कुरा भारतको चेदिदेश (दक्षिण पाञ्चाल) का राजा उपरिचर बसु र देवराज इन्द्रको कथाबाट पनि प्रस्ट हुन्छ । आजभन्दा पाँच हजार वर्षपहिले प्रचलनमा रहेको ध्वजोत्थान गर्ने परम्परा भारत हुँदै नेपालमा प्रवेश गरेको देखिन्छ । शिवदेव, अंशुवर्माको लेलेको संवत् ५२६ को अभिलेखमा ‘ध्वजगौष्ठिक’ को उल्लेख गरी गुठियारलाई खेत छुट्याइदिएको देखिन्छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, २०३०, पृष्ठ २८२) ।

त्यस्तै हाँडीगाउँमा रहेको संवत् ३० को अंशुवर्माको अभिलेखमा पनि राजकीय ध्वजा बोक्ने मानिस ‘ध्वजमनुष्य’ लाई २ पुराण २ पण नगद भाग छुट्याइएको थियो (ऐ., पृष्ठ ३०१) । नेपाल संवत् ३७५ मा पशुपति भट्टारकमा ध्वजारोपण गरेको, नेपाल संवत् ४११ मा भक्तग्राममा तिरहुतीया प्रवेश गरेको, युवराज्ञी विरमदेवीले सोमेश्वरनिमदेव र चंगु देवालयमा ध्वजारोपण गरेको र इन्द्रकुट प्रतिस्थापन गरी ध्वजारोपण गरेको कुरा गोपालराज वंशावलीमा उल्लेख गरिएको छ (धनवज्र वज्राचार्य र कमल पि.मल्ल, १९८५, पृष्ठ २१९, २२०) । लिच्छविकालदेखि नै ध्वजारोपण गर्ने परम्परा रहनुले यसको ऐतिहासिक महŒव रहेको प्रस्ट छ । 

बिस्काः जात्रामा लिङ्गो 

भक्तपुरको बिस्काः जात्रामा विश्वध्वजासहितको लिङ्गो ठड्याउनु यस ठाउँको मुख्य आकर्षण हो । भैरवनाथ मन्दिरको अगाडि लामो काठ उभ्याई आपूmलाई दुःख दिने नागलाई सूर्यवंशी राजाले तरवारले बध गरी झुन्ड्याइएको प्रसङ्ग देवमाला वंशावलीमा उल्लेख छ । राजा आनन्ददेवले भैरवलाई मध्य पारी १२ हजार घरको सहर बनाएको र यिनै राजाको सन्तान जगज्योति मल्लले नेपाल संवत् ६९० मा भैरवनाथको रथ बनाई मेष सङ्व्रmान्तिको दिन लिङ्गो ढाल्ने रीत चलाएको कुरा वंशावलीमा उल्लेख छ । अहिले पनि भक्तपुरमा चैत मसान्तको दिन ५५ हातको लिङ्गो ठड्याउने र मेष सङ्व्रmान्तिको दिन भैरव र कालीको रथयात्रा गर्ने परम्परा रहेको छ । लिङ्गोमा करिब ३५ हात लामा दुई ठुला विश्वध्वजा झुन्ड्याइन्छ । अष्टमातृकाको प्रतीकका रूपमा आठ वटा मोटो डोरीले तानेर लिङ्गो ठड्याउने प्रचलन रहेको छ । यसलाई विश्वध्वज वा बिस्काः जात्राका रूपमा लिने गरिन्छ । 

भक्तपुरकै तालक्वटोलमा स्थानीय प्रजापतिले चैत मसान्तको दिनमा हात नभएको लिङ्गो ठड्याउने परम्परा रहेको छ । स्थानीयले भेलुख्यःको लिङ्गोलाई ‘न्हाøमरु यःसिं’ र तालक्वको लिङ्गोलाई ‘ल्हाःमरु यःसिं’ भन्ने गर्छन् । जात्रामा ठड्याइएको भेलुख्यःको लिङ्गो वैशाख १ गते ढालिन्छ । तालक्वको लिङ्गो चार दिनपछि मात्र ढालिन्छ । मल्लकालीन संस्कृतिको उपजका रूपमा रहेको यो जात्रा मनाउनाले सर्वत्र सुख, शान्ति र समृद्धि फैलिने, शत्रु नाश हुने शास्त्रीय मान्यता रहेको छ ।  

भक्तपुरको ठिमीमा प्रत्येक वर्ष चैत मसान्तको दिन बालकुमारी देवीको मन्दिरपरिसरमा एकजोडा ध्वजासहितको लिङ्गो ठड्याई बिस्काः जात्रा मनाउने गरिन्छ । वैशाख २ गते मन्दिरपरिसरमा बालकुमारीलगायत देवदेवीको खट बोकी सिन्दूर जात्रा मनाइन्छ तर हिजोआज लिङ्गो उभ्याउने परम्परा लोप भइसकेको डा. गोपाल धौबन्जारले आफ्नो पुस्तक ‘काठमाडौँ उपत्यकाका बस्तीहरू’ (२०६८) को पृष्ठ २३८ मा लेख्नुभएको छ । बोडेमा हुने बिस्काः जात्राको सुरुवात मेष सङ्व्रmान्तिको चार दिनअघिबाट नै हुने गर्छ । नीलवाराही र महालक्ष्मीको पूजा गुठीबाट चैत मसान्तको दिन लिङ्गो ठड्याउने गरिन्छ । वैशाख २ गते जिब्रो छेड्ने जात्रा गरी ५ गते उक्त लिङ्गो ढाल्ने गरिन्छ । काभ्रेको साँगामा हुने बिस्काः जात्रामा पनि चैत मसान्तको अन्तिम दिन बस्तीमा रहेको डबलीमा ध्वजासहितको लिङ्गो ठड्याउने गरिन्छ । यहाँ लिङ्गो ठड्याएपछि वैशाख १ गते इताचामा श्वेत गणेशको पूजा, २ गते बिहान गणेश, कुमारी, भैरवको खट बजारको भीमसेन स्थानमा राखी मन्दिरमा घुमाउने र डबलीहरूमा सिन्दूर जात्रा गरिन्छ । अर्को दिन देवताको सगुन दिने भन्दै तिनै वटा खटलाई बजार परिक्रमा गराइन्छ । लिङ्गो ढाल्नुपूर्व नै खट जात्रा समापन गर्नुपर्ने मान्यता साँगामा रहेको छ । वैशाख ४ गते विधिपूर्वक लिङ्गो ढालिन्छ । 


बनेपा बजारनजिक रहेको खड्पु (श्रीखण्डपुर) मा बर्सेनि हुने बिस्काः जात्रामा चैत मसान्तको अघिल्लो दिन लिङ्गोलाई पशुबलि दिई विधिवत् पूजा गरेर मात्र ठड्याउने गरिन्छ । लिङ्गो ठड्याउँदा ध्वजा झुन्ड्याउने चलन रहेको छैन । केवल एउटा मात्र लिङ्गो ठड्याउने गरिन्छ । लिङ्गो ठड्याउने काम सकिएको भोलिपल्ट भैरव, कुमार र गणेशलाई एउटै खटमा राखी जात्रा गरेर लिङ्गो ठड्याइएको स्थानसम्म लगिन्छ । वैशाख २ गते स्थानीय डबलीमा खट पु¥याएर गुठियार तथा भक्तजनले आफ्नो इच्छा अनुसार खाद्यवस्तु दान दिने, वैशाख ३ र ४ गते स्थानीयवासीले भैरवको पूजा गर्ने र वैशाख ५ गते लिङ्गो ढाल्ने काम सकिएसँगै जात्रा सकिन्छ । 

काठमाडौँको फुटुङ, मनमैजु, साङ्ला, धर्मस्थलीमा पनि लिङ्गो ठड्याई जात्रा मान्ने परम्परा रहेको छ । फुटुङ (जयन्तीपुर) मा प्रत्येक वर्ष वैशाख १ गते झल्लरयुक्त ध्वजासहितको लिङ्गो ठड्याउने गरिन्छ । किंवदन्ती अनुसार ध्वजा धर्मस्थलीबाट उडेर फुटुङ आएको र स्थानीयले सो ध्वजा दिन नमानी त्यहीँ रहेको मानिन्छ । लिङ्गो ठड्याइएपछि इन्द्रायणी, गणेशको खटलाई गाउँ घुमाई वैशाख २ गते त्यहाँको नागपोखरीमा तीन पटक डुबाएर स्नान गराइन्छ । जात्रामा वैशाख ३ गते खटलाई विश्राम गराई ४ गते देवदेवीको खटलाई गाउँ घुमाई जात्रा मनाउने गरिन्छ । त्यसपछि चौरमा गाडिएको लिङ्गो ढालेर जात्राको विधिवत् समापन गरिन्छ ।

मनमैजुमा प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिनदेखि पाँच दिनसम्म इन्द्रायणी देवीको पूजा हुने गर्छ । चतुर्दशीको दिन तारकेश्वर महादेव रहेको वनबाट विधिपूर्वक पूजा गरी काटेर ल्याइएको सल्लाको रुखलाई लिङ्गोका रूपमा मन्दिरपरिसरमा प्रवेश गराई चैत्र पूर्णिमाको दिनमा ठड्याउने गरिन्छ । जात्राको पाँच दिनसम्म मनमैजु देवीको बलिसहितको पूजा गरिन्छ । देवीको खटलाई विभिन्न टोलमा पु¥याई सिन्दूर जात्रा गरिन्छ । लिङ्गो ढालेपछि खट जात्रा सकिन्छ । 

केशावती नदीको तीरमा रहेको साङ्ला बस्तीको बिचमा तुलजा भवानीको क्वाठ रहेको छ । यस ठाउँमा घोडेजात्राको दिनमा लिङ्गो ठड्याउने परम्परा रहेको छ । लिङ्गो ठड्याइएको १५ दिनपछि जात्रा मनाउने गरिन्छ । खटमा बालकुमारी र चुनदेवीको मूर्ति एकै ठाउँमा राखेर जात्रा गरिन्छ । चैत्र शुक्ल पूर्णिमाको दिनमा जात्राको समापनपछि विधिवत् पूजा गरी लिङ्गो ढालिन्छ ।  काठमाडौँको टोखामा मनाइने बिस्काः जात्रामा लिङ्गो ठड्याउने काम चैत्र कृष्ण चतुर्दशी तिथिमा गरिन्छ । लिङ्गोमा एउटा मात्र ध्वजा फहराउने गरिन्छ । जात्राको सम्पूर्ण काम चैत मसान्तकै दिनबाट सुरु हुने गर्छ । वैशाख १ गते सपनतीर्थमा मेला लाग्ने गर्छ । चण्डेश्वरी, सपनतीर्थ गणेश, सरस्वती, कालीलाई अलग्गै खटमा राखेर वैशाख ५ गतेसम्म जात्रा गरिन्छ । लिङ्गो वैशाख ५ गते ढालिएपछि जात्रा सकिन्छ । 

काठमाडौँको साँखुमा प्रत्येक वर्ष मेष सङ्व्रmान्तिको दिन वैशाख १ गते चलाखुटोलको महालक्ष्मी अष्टमातृका पिठको अगाडि ३२ हातको लिङ्गो ठड्याई बिस्काः जात्रा मनाइन्छ । लिङ्गोमा एउटा मात्र ध्वजा फहराउने गरिन्छ, जुन ११ हातको हुन्छ । ध्वजाको दुवै पातामा अष्टमातृका देवी, चन्द्र, सूर्यको चित्र हुन्छ । लिङ्गोलाई भैरवको प्रतीकका रूपमा मानेर बोका बलि दिई पूजा गरिन्छ । ध्वजामा रहेको दुई वटा पुच्छरलाई नागको प्रतीकका रूपमा लिइन्छ । 

लिङ्गो सल्लाको रुखबाट तयार गरिन्छ । सल्लाको रुख वज्रयोगिनी वनबाट गुठियार वा टोलको जेठो व्यक्तिबाट छानेर ल्याउने प्रचलन रहेको छ । स्थानीयको भनाइ अनुसार उनीहरू वनसम्म जान नसकेको अवस्थामा व्रतबन्ध गरिसकेको सबैभन्दा कान्छो व्यक्तिले छान्ने परम्परा रहेको छ । लिङ्गोका रूपमा छानेको रुखलाई गुठियारले विधिपूर्वक पूजा गरी भेडाको पाठो बलि दिनुपर्ने मान्यता रहेको छ । पाठोले छोएको रुखलाई नै लिङ्गो मानी काट्ने र काटेको लिङ्गोलाई काँटछाँट गरी साँखु पु¥याई ठड्याउने गरिन्छ । मसान्तको दिन ठड्याइएको लिङ्गो वैशाख २ गते ढालिन्छ । लिङ्गो ढाल्ने समयमा तत्कालीन राजा साँखु सवारी हुनुपर्ने मान्यता रहेको छ । नेपाल संवत् ७९४ मेष सङ्व्रmान्तिमा साँखुको बिस्काः जात्रामा राजा प्रताप मल्ल आउन नसकी तीन जना राजकुमारलाई पठाएको कुरा प्रकाशमान सक्वले लावण्य सन्देशको अनलाइनमा उल्लेख गर्नुभएको छ ।  

ललितपुरको सुनागुठीमा हुने बालकुमारी जात्राको अवसरमा काठको लामो लिङ्गो ठड्याउने परम्परा रहे पनि यसलाई बिस्काः जात्राको रूपमा लिइँदैन । नेपाल संवत् ६३३ मा राजा रत्न मल्लले तीन सय घरको सुनागुठी सहर बसाइ चैत्र सुदी १५ का दिन खट जात्रा र लिङ्गो उभ्याउने थिति बाँधेको कुरा देवमाला वंशावलीमा परेको छ । अहिले पनि सुनागुठीमा स्थानीय जनसमुदायले चैत्र शुक्ल चतुर्दशीको दिन भृङ्गेश्वर महादेव मन्दिरको अगाडि मूलसडक सँगै ‘यःसिं गाः’ मा ध्वजासहितको ६५ हात लामो लिङ्गो ठड्याई गणेश, कुमार, महादेवसहितको बालकुमारीको जात्रा मनाउने गरिन्छ । महादेवको प्रतीकका रूपमा लिङ्गोलाई पूजा गरिन्छ । जात्राको तीन दिनपछि चैत्र शुक्ल पूर्णिमाको मध्यरातमा खट जात्रा सकेपछि लिङ्गो ढालेर जात्राको विधिवत् समापन गरिन्छ । 

इन्द्रजात्रामा लिङ्गो    

काठमाडौँमा हुने इन्द्रजात्राको अवसरमा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिन हनुमानढोका दरबारपरिसरमा रहेको कालभैरवको मूर्तिसामुन्ने ३२ हातको लिङ्गो ठड्याउने गरिन्छ । लिङ्गो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पन्चैबाजाको समूहले मङ्गल धुन बजाउने गरिन्छ । लिङ्गो ठड्याइएपछि फेदमा भैरवको साधना गरी पूजा गरिन्छ । लिङ्गोमा मङ्गल सूचक चिह्न अङ्कित ध्वजा (हलिंपता) झुन्ड्याइएको हुन्छ । 

इन्द्रजात्राको प्रमुख आकर्षण ध्वजासहितको लिङ्गो स्थापना हो । लिङ्गो ठड्याउने प्रचलनको सम्बन्धमा महाभारत, वाल्मीकि रामायण, कालिका पुराण, देवी पुराण, विष्णु पुराण आदिमा वर्णन गरेको पाइन्छ । पुराण अनुसार प्राचीन समयमा असुर र देवताहरूको युद्धमा ब्रह्मा, विष्णु, महादेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाइदिएको र सोही ध्वजा इन्द्रले समाएकाले देवगणको विजय भएका कारण इन्द्रध्वजाले मान्यता पाउन थालेको देखिन्छ । त्यसैले इन्द्रध्वजालाई विजयोत्सवको प्रतीकका रूपमा लिने गरेको छ । इन्द्रध्वजाको स्थापनापछि आफ्नो राज्यमा सुख, समृद्धि हुने धार्मिक विश्वासका कारण अहिलेसम्म पनि जात्राको अवसरमा ध्वजोत्थान गर्ने परम्परा बसेको देखिन्छ । लिङ्गोमा ध्वजोत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहास छ ।

जात्रामा ठड्याउने लिङ्गो भक्तपुरको चित्तापोल, काभ्रेस्थित नाला जस्ता जङ्गलबाट ल्याउने प्रचलन रहेको छ । तान्त्रिक विधिद्वारा पूजा गरी जङ्गलमा छाडिएको बोकाले छोएको रुख भाद्र शुक्ल द्वितीयाका दिन काट्ने गरिन्छ । त्यसरी काटिएको लिङ्गोलाई शुभ साइतमा उपत्यका प्रवेश गराइन्छ । एक रात भोटाहिटीमा राखी एकादशीको दिनमा लिङ्गो तयार गरिन्छ । उक्त लिङ्गोलाई विधिपूर्वक पूजा गरी भाद्र द्वादशीको दिन ठड्याउने गरिन्छ । पहिले लिङ्गो ठड्याउने प्रचलन हनुमानढोका दरबारपरिसरमा नभएर नजिकको चिकंमुगल टोलमा हुन्थ्यो । पृथ्वीनारायण शाहले कान्तिपुर जितेपछि लिङ्गो ठड्याउने ठाउँ परिवर्तन गरेको बुझिन्छ ।     

दरबारपरिसरमा लिङ्गो ठड्याइएपछि आठ दिनसम्म जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा, भक्तपुरको महाकाली नाच, मजिपातको लाखे, दशावतार नाच, पुलुकिसी नाच नचाउने परम्परा रहेको छ । आठौँ दिन बेलुकीको साइतमा ध्वजासहितको लिङ्गो ढालिन्छ । लिङ्गोलाई तानेर बागमती नदीमा लगेर सेलाएपछि जात्रा सकिन्छ ।  काठमाडौँमा जस्तै ललितपुरको प्याङगाउँ (श्वीखतापुर) मा पनि इन्द्रजात्राको अवसरमा लिङ्गो ठड्याउने परम्परा रहेको छ । यहाँ भाद्र शुक्ल एकादशीका दिनमा दुई वटा लिङ्गो ठड्याउने र दुवैलाई काठ र डोरीको सहायताले जोड्ने गरिन्छ । लिङ्गोलाई हरियो पातसहितको ‘द्यःस्वाँ’ (एक प्रकारको पूmल) ले फेददेखि टुप्पोसम्म सजाउने र टुप्पोमा छत्री ओढाउने गरिन्छ । यसमा कुनै ध्वजा हुँदैन । यसलाई स्थानीयवासी ‘ताहाः द्यो’ भन्ने गरिन्छ । यहाँ लिङ्गोलाई महादेवको प्रतीकका रूपमा पूजा गरिन्छ । स्थानीय संस्कृति अध्येता माहिला महर्जन (वर्ष ७१) का अनुसार लिङ्गोको लम्बाइ यति नै हुनु पर्छ भन्ने कुनै बाध्यता छैन । लिङ्गो ठड्याउने काम ‘पदम ग्वाङ’ (गुठी) बाट हुने गर्छ । लिङ्गो ठड्याइएपछि बस्तीभित्र डमरु, धाँ बाजा बजाई कालेश्वर महादेवको खट जात्रा हुने गर्छ । जात्राको नवौँ दिनमा लिङ्गोमा सजाइएको पूmल, पात निकाली गाउँमा राखेर बाल्ने र आगो माथिबाट उफ्रेर बाल्मु गुठीका गुठियारहरू नाच्ने गर्दछन् । यसलाई स्थानीय भाषामा ‘बाल्मु नाच्ने’ भनिन्छ । नाच सकेपछि लिङ्गो ढालेर जात्रा समापन गरिन्छ । 

अन्य जात्रामा लिङ्गो 

काठमाडौँको पचली भैरव जात्रामा दसैँ आउने सङ्केतका रूपमा साँखुको वनबाट ३२ हातको रुख काटेर ल्याई आश्विन शुक्ल चतुर्थीको दिनमा लिङ्गो ठड्याउने गरिन्छ । त्यसपछि टेकुबाट जात्रा सुरु भई ब्रह्मटोल, ज्याबहाः, जैसीदेवल, लगन हुँदै हनुमानढोकासम्म सञ्चालन हुन्छ । अष्टमीको दिनमा लिङ्गो ढालेपछि जात्रा सकिन्छ । त्यस्तै पशुपति क्षेत्रको गुह्येश्वरी जात्रामा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण पक्ष नवमी र दशमीको दिनमा ३२ हातको लिङ्गो ठड्याउने परम्परा रहेको छ । लिङ्गोका लागि पशुपति क्षेत्र स्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ । गुह्येश्वरी मन्दिरमा तलेजु भवानीलाई लैजानुअघि लिङ्गो ठड्याउने गरिन्छ । जात्रा सकिएपछि लिङ्गो ढाल्ने गरिन्छ ।    

जुम्ला र डोल्पामा लिङ्गो

उपत्यकाबाहिर जुम्लावासीले चन्दननाथ र बटुक भैरवनाथको मन्दिरमा ५२ हातको ध्वजा र नेजासहित ५२ हातको लिङ्गो ठड्याइएपछि दसैँको घटस्थापना सुरु गर्छन् । ठड्याउनुपूर्व लिङ्गोलाई रङ्गीबिरङ्गी कपडाले ढाकिने गरी सजाउने र टुप्पोमा ध्वजा लगाएर मन्दिरमा ठड्याउने गरिन्छ । जीवनमा अनिष्ट नहुने र शक्ति प्राप्त हुने विश्वासले लिङ्गोे फेर्दा स्थानीयले पुरानो ध्वजा र नेजा लिएर जाने परम्परा रहेको छ । देशको प्रसिद्ध शक्तिपीठका रूपमा रहेको डोल्पाको बाला त्रिपुरासुन्दरी मन्दिरमा चैते दसैँको दिनमा भगवतीको प्रतीकका रूपमा चार वटा काठको लिङ्गोे ध्वजा टाँगेर ठड्याउने परम्परा रहेको छ । मन्दिरमा वर्षको दुईपटक चैत्र शुक्ल अष्टमी र आश्विन शुक्ल अष्टमीको दिनमा ध्वजासहित लिङ्गोे ठड्याउने गरिन्छ । अन्त्यमा विभिन्न जात्रा तथा पर्वको अवसरमा लिङ्गो ठड्याउने र ध्वजोत्थान गर्ने परम्परा अहिले धार्मिक, सांस्कृतिक, सामाजिक पर्वका रूपमा विकसित भइसकेको छ । यस्ता पर्वसँग मानिसको विभिन्न संस्कार, परम्परा तथा सामाजिक मूल्य जोडिएको छ । विभिन्न कथा, किंवदन्तीले यसलाई जीवन्त बनाएको छ । यस्ता संस्कृति भावी पुस्ताले निर्विवाद उपभोग गर्न पाउनु पर्छ । परम्परालाई बचाइराख्न लिङ्गोका रूपमा उपयोग हुने सल्ला, साल जस्ता रुख पाइने वनजङ्गल जोगाइराख्नु अनिवार्य छ ।    

विभिन्न जात्रा, पर्वलाई चिरकालसम्म जीवन्त बनाइराख्न अमूर्त सम्पदाको सूचीकरण गरिराख्नु जरुरी छ । अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ ले अमूर्त सांस्कृतिक सम्पदाको जीवन्तता सुनिश्चित गर्न पहिचान, अभिलेखीकरण, संरक्षण, प्रवर्धन, हस्तान्तरण आदिलाई उपायका रूपमा स्वीकारेको छ । देशमा मौलिक परम्पराका रूपमा प्रचलित बिस्काः जात्रा, इन्द्रजात्रा जस्ता विभिन्न पर्वको सूचीकरण गरी युनेस्कोबाट समेत मान्यता प्राप्त गर्ने व्यवस्था गर्नु पर्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ हालै जारी गरी देशका हरेक जाति, भाषा, धर्म एवं संस्कृतिसँग जोडिएका अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणको प्रव्रिmया थालनी गरेको छ । यसका लागि राज्यका तिनै तह सङ्घ, प्रदेश र स्थानीय सरकारले विभिन्न सांस्कृतिक समुदायसँगको सहकार्यमा संरक्षण तथा विकासका लागि कार्य गर्नु पर्छ ।

धार्मिक विश्वासका कारण लिङ्गो ठड्याई ध्वजोत्थान गर्ने कार्य विभिन्न जात्रा, पर्वसँग सम्बन्धित भई नेपाली समुदायमा संरक्षित हुने मौका पाएको छ । यो परम्परा विजयोत्सव र खुसियालीको प्रतीक हो । यो देशको पहिचानसँग पनि जोडिएको छ । यो परम्परा देशको अमूर्त सम्पदा हो । विश्वसम्पदाका रूपमा यिनको संरक्षण एवं विकास गर्दै देशको पहिचान स्थापित गर्नु पर्छ । यस्ता मौलिक संस्कृतिको प्रचारप्रसार गरी अन्तर्राष्ट्रिय जगत्मा फैलाई पर्यटन उद्योगमार्फत राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने माध्यमका रूपमा विकसित गर्दै लानु पर्छ ।