• ३ साउन २०८१, बिहिबार

कृषि निर्यातको परीक्षणका लागि बिहारमा खाद्य प्रयोगशाला

blog

तस्बिरः भारतीय राजदूतावास

काठमाडौं, जेठ २२ गते। भारत सरकारका स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री डा. मनसुख मण्डावियाले नेपालको खाद्यान्न र कृषि निर्यातको परीक्षणका लागि बिहारमा बनेको राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गर्नुभएको छ। 

आइतबार रक्सौलमा बनेको खाद्य प्रयोगशालाको नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवको उपस्थितिमा उद्घाटन भएको हो। 

भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाको परीक्षण गर्नका लागि बनाइएको भारतीय राजदूतावासले जानकारी गराएको छ। 

यो उन्नत सुविधा र पूर्वाधारले सुसज्जित आधुनिक प्रयोगशाला हो। यस प्रयोगशालाले नेपालको खाद्यान्न र कृषि निर्यातको नमूना परीक्षणमा लाग्ने समयको बचत गर्ने विश्वास लिइएको छ। प्रयोगशालाले भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्नेछ। हाल यी नमुनाको परीक्षणका लागि दिल्ली वा कोलकाता पठाउनुपर्ने अवस्था रहेको थियो। 

खाद्य प्रयोगशालाको निर्माण “छिमेकी पहिलो” नीति अनुरुप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने भारतीय प्रतिबद्धता अनुसार भएको भारतीय राजदूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।