काठमाडौँ, चैत २७ गते । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीति वाञ्छित सीमाभित्र देखिएको हो ।
प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३४ र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९७ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १३ दशमलव ७४, दाल तथा गेडागुडीको सात दशमलव ८०, फलफूलको छ दशमलव ८२ र गैर-मदिराजन्य पेय पदार्थको पाँच दशमलव १५ प्रतिशतले बढेको छ । तर, मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव १७, तरकारीको एक दशमलव २४ र माछा तथा मासुको शून्य दशमलव ७४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव १४, कपडाजन्य तथा जुत्ताचप्पलको सात दशमलव ०१, मदिराजन्य पेय पदार्थको छ दशमलव ०७, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव ५९ र यातायातको पाँच दशमलव ०७ प्रतिशतले बढेको छ ।
गत फागुन महिनासम्ममा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव १८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको तीन दशमलव ६० प्रतिशतले बढेको छ । प्रदेशगत रुपमा यो अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ६८, मधेशको तीन दशमलव ५२, बागमतीको दुई दशमलव ९८ प्रतिशत र गण्डकी प्रदेशको दुई दशमलव ७७ प्रतिशतले बढेको छ ।
त्यस्तै, लुम्बिनीको तीन दशमलव ७७, कर्णालीको तीन दशमलव ८० र सुदूरपश्चिम प्रदेशको चार दशमलव ४१ प्रतिशत रहेको छ । काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५, तराईको तीन दशमलव ७७, पहाडको तीन दशमलव ७२ र हिमालको चार दशमलव ७७ प्रतिशत छ । रासस