• २५ चैत २०८१, सोमबार

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्ने आचार्य चार दिनदेखि फरार, कारबाही गर्न माग

blog

बोमलाल गिरी

नवलपुर, चैत २५ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीमाथि आक्रमण गर्ने सन्दीप आचार्य चार दिन फरार रहेको प्रहरीले जनाएको छ । आचार्यलाई प्रहरीले खोजी गरिरहेको बताए पनि हालसम्म पक्राउ गर्न सकेको छैन ।

आचार्यले शुक्रबार गाउँपालिकाको कार्यालय परिषरमा अध्यक्ष गिरी माथि आक्रमण गरेका थिए । नदीजन्य पदार्थ खुलाउने र क्रसर उद्योगको विषयमा गाउँपालिका अध्यक्ष र युवा सङ्घका अध्यक्ष आचार्य सहितको टोलीबिच विवाद भएर आक्रमण भएको प्रहरीको भनाइ छ ।

घटना लगत्तै फरार रहेका आचार्यको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । आचार्यको खोजि कार्यका लागि प्रहरी परिचालनदेखि अन्तिम लोकेसन पत्ता लगाउने काम भई रहेको ढकालले  बताउनुभयो ।

गाउँपालिका अध्यक्ष माथि आक्रमण गर्ने व्यक्ति हालसम्म पक्राउ नहुदाँ कार्यालयमा कार्य गर्न समेत असहज परिस्थिति जनप्रतिनिधिहरूले महसुस गरिरहेको गाउँपालिकाका प्रवक्ता नुरेन्द्र शाहाले बताउनुभयो । 

अध्यक्षमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउदै सहज वातावरणमा कार्यसम्पादन गर्ने अवस्था सृजना गर्न समेत उहाँले राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकायलाई अनुरोध गर्नु भएको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घको गाउँपालिका कमिटी अध्यक्ष समेत रहेका आचार्यलाई एमालेले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि गाउँपालिका कमिटीले जिल्ला कमिटीलाई सिफारिस गरेको छ । आचार्यलाई गाउँ कमिटीबाट प्राप्त सिफारिसको आधारमा कारबाहीको प्रक्रिया अघि बढेको जिल्ला कमिटी अध्यक्ष जीवन श्रेष्ठले बताउनुभयो । 

नेकपा एमाले विनयी त्रिवेणी गाउँ कमिटीले पनि विज्ञप्ती निकालेर आचार्यलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरूले पनि अध्यक्ष गिरीमाथि आक्रमण गर्ने आचार्यलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन विनयी त्रिवेणी गाउँपालिका र नेपाल निजामती कर्मचारी सङ्गठन विनयी त्रिवेणी गाउँपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आचार्यलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन्।

आपराधिक मानसिकताका साथ गाउँपालिका अध्यक्ष गिरीमाथि भएको घटनाले पालिका भित्रका जनप्रतिनिधि र कर्मचारीहरूको मनोबलमा समेत खलल पुगेको विज्ञप्तिमा उल्लेख छ । 

दुवै सङ्गठनले शुक्रबारको घटनाले समाजमा विकृत्त तथा उच्छृङ्खल प्रवित्तिलाई बढवा दिने तथा गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहमा समेत गम्भीर असर पुर्‍याउने भएकाले उक्त घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाहीका लागि सम्बन्धी निकायसँग माग समेत गरेका छन् ।