जनार्जन खत्री
सर्लाही, पुस १ गते । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा फुटबल रङ्गशाला तयार भएको छ । जीवेश्वर युवा क्लबले मधेश प्रदेश सरकार, लालबन्दी नगरपालिका, वडा कार्यालय र विभिन्न दाताहरूको सहयोगमा आकर्षक फुटबल रङ्गशाला तयार पारेको हो ।
क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले मधेश प्रदेशकै नमूनाको रूपमा प्यारापिटसहितको रङ्गशाला तयार पारिएको जानकारी दिनुभयो । बुढाथोकीका अनुसार ५०० दर्शक क्षमताको प्यारापिट, ड्रेसिङ रुम, प्लेयर बक्स, शौचालय, बाथरुमसहितको सुविधायुक्त आकर्षक रङ्गशाला तयार पारिएको हो । सबै निकायको साथ, सहयोगले आकर्षक रङ्गशाला तयार भएपछि क्लबका पदाधिकारी र स्थानीय फुटबल प्रेमी उत्साहित भएका छन् ।
यो रङ्गशालामा तत्कालै प्रथम लालबन्दी मधेश प्रदेश आमन्त्रण मेयर गोल्डकप–२०८२ गराउने तयारी गरिरहेको क्लबका सल्लाहकार राजु राईले बताउनुभयो । प्रदेशस्तरीय फुटबल प्रतियोगिताका लागि लालबन्दी नगरपालिका कार्यालयले आवश्यक बजेट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको राईले बताउनुभयो ।
ओझेल र उपेक्षामा परेको फुटबल मैदानलाई जीवेश्वर युवा क्लबका पदाधिकारीले सक्रियता देखाएर रङ्गशाला नै बनाएका हुन् । सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेशसभा सदस्य बेची लुङ्गेलीले आफ्नो संसदीय विकास कोषबाट प्रदान गर्नुभएको १० लाख रुपियाँले खेल मैदान स्तरोन्नतिको काम सुरु गरिएको थियो ।
रङ्गशाला निर्माण गर्न अहिलेसम्म प्रदेशसभा सदस्य लुङ्गेलीले प्रदान गरेको १० लाख रुपियाँसहित प्रदेश खेलकुद मन्त्रालयको ६५ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदान गरेको १५ लाख र वडा कार्यालयले प्रदान गरेको पाँच लाख रुपियाँ खर्च भएको क्लबका अध्यक्ष बुढाथोकीले बताउनुभयो । रङ्गशालाका लागि विभिन्न व्यक्तिहरूले दराज, कुर्सी, टेबल, पङ्खा, बत्ती, बोरिङसहितका सामग्री सहयोग गरेका जीवेश्वर युवा क्लबले जनाएको छ ।
रङ्गशालामा भर्खरै पिसजोन इङ्गलिस बोडिङ स्कुल लालबन्दी १ र कम्युनिटी वेलफेयर इङ्गलिस स्कुल लालबन्दी ६ ले एक, एक वटा प्लेयर बक्स निर्माण गरिदिएका छन् ।