रमेश विश्वकर्मा
गुल्मी, पुस ३ गते । यस जिल्लाको गुल्मीदरबार गाउँपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनेभएको छ । यहि पुस ७ देखि ९ गतेसम्म रुन्खा दह माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार चालु शैक्षिक सत्रमा यस गाउँपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीहरु मात्र प्रतियोगितामा सहभागी गराउन आग्रह गरिएको छ । भलिबल र कबड्डी खेलमा बढीमा नौ÷नौ जना विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । एथ्लेक्टिस इभेन्ट्समा प्रत्येक खेलाडीले एक फिल्ड दुई ट्रयाक वा दुई फिल्ड एक ट्रयाकमा भाग लिन पाउनेछन् ।
मार्सल आर्ट तर्फ कराँते र तेक्वान्दोको डेमो प्रदर्शन गरिने भएको छ । प्रतियोगिता सञ्चालनसम्बन्धी अन्य व्यवस्था राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाँचौँ संशोधन) अनुसार हुनेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सम्पूर्ण विवरणसंगै फाराम भरी आवश्यक कागजातसहित पुस ४ गतेसम्म शिक्षा शाखामा उपलब्ध गराउनुपर्नेछ ।
त्यसैगरी, प्रतियोगितामा भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथ्लेटिक्स दौड छात्र/छात्रा (ट्रयाक), उफ्रने र फ्याँक्ने छात्र/छात्रा (फिल्ड) तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रोलगायतका खेल खेलिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।