• ३ पुस २०८२, बिहिबार

चिसोबाट जोगाउन उपल्लो मुस्ताङको नामासुङ गाउँमा स्वास्थ्य शिविर

blog

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, मा अवस्थित नामासुङ गाउँमा आयोजित शिविर । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), पुस ३ गते ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,मा अवस्थित नामासुङ गाउँकी ८३ वर्षीया घरचुङ गुरूङले हातखुट्टा सुनिने र कम्मर दुख्ने समस्याको गाउँमै उपचार गर्नुभयो । जाडोयाममा शरीर दुख्ने समस्याबाट ग्रसित गुरूङजस्तै ५३ वर्षीया कैसाङ गुरूङले छाला सुख्खा हुने, आँखा पोल्ने समस्या स्वास्थ्यकर्मीलाई सुनाउनुभयो । लोमान्थाङ–कोरला मुख्य सडकमार्ग छोसर खोलाको पूर्वतर्फ रहेको गाउँमा विभिन्न रोगबाट ग्रसित तथा चिसोबाट लाग्ने रोगबाट जोगाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमान्थाङ, इलाका प्रहरी कार्यालय लेमान्थाङ, सशस्त्र प्रहरी बलको(बिओपी)को संयुक्त आयोजनामा सञ्चालित शिविरमा स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको थियो ।

शिविरमा १९ देखि ८३ वर्ष उमेर समूहका १९ महिला र ३ जना पुरूषको उपचार गरिएको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो । प्रमुख पौडेलले भन्नुभयो, ‘‘चिसोबाट बालबालिका र वृद्धवृद्धालाई धेरै समस्या हुन्छ, स्वास्थ्य शिविरमा समस्या पहिचान भएकालाई औषधी र परामर्श प्रदान गरिएको छ ।’’ एक्यापका स्वास्थ्यकर्मी रामलाल गुरूङका अनुसार शिविरमा मधुमेह, उच्च रक्तचाप, छाला, रुघाखोकी, नसासहित विभिन्न प्रकारका समस्याको पहिचान भएको बताउनुभयो । शिविरमा चिसोबाट जोगिने नाममा चुरोट तथा सुर्तिजन्य पदार्थका साथै मदिरा सेवन गर्दा झनै समस्या हुने भएकाले बाख्लो कपडा र न्यानोमा बस्न सुझाव दिएको स्वास्थ्यकर्मी गुरूङको भनाइ छ ।

कूल १८ घरधुरी रहेको नामासुङ गाउँका वृद्धवृद्धा कठ्याङ्ग्रिँदो चिसो छल्न बेंसी झर्ने न्यून हुने भएकाले नियमित स्वास्थ्य चेकजाँचसहित समस्या भएमा उपचारका लागि स्वास्थ्यचौकीमा पठाउन आवश्यक सहकार्य गरिने शस्त्र प्रहरी बलको(बिओपी)ले जनाएको छ । उपल्लो मुस्ताङमा जाडोयाममा बस्तीमै रहनेहरूको विवरण सङ्कलन गरी समुदायमा आधारित स्वास्थ्यसहितका कार्यक्रमहरू सञ्चालन गरिने एक्याप प्रमुख पौडेलको भनाइ छ । उपल्लो मुस्ताङमा विहान र बेलुकी तापक्रम माइनस डिग्री सेल्सियसमा झर्ने भएकाले घरमा वृद्धवृद्धाले पशुचौपायाको रेखदेख गर्ने गरेका छन् । मुस्ताङमा पुस र माघ महिना निकै कष्टकर हुन्छ ।