• २६ चैत २०८१, मङ्गलबार

छिटो सास किन फेर्छौं ?

blog

हामी मामाघर जाँदा आमालाई जित्ने भन्दै उकालोमा दौड्दै माथि पुग्थ्यौँ । थाकेर असिन पसिन भएर स्याँ स्याँ गर्दै चौतारीमा बिसाउँथ्यौँ तर आमा एकनास गतिमा हिँड्नु हुन्थ्यो र हामीलाई भेट्नु हुन्थ्यो । आमा आई पुग्दा हामी थकाइ मेटेर फेरि आमासँगै हिँड्थ्यौँ । बेलुका सुत्ने बेला खुट्टा दुख्यो भनेर आमासँग झगडा गथ्र्यौं । अनि आमाले गाली गर्नहुन्थ्यो, दिउँसो खुब मच्चिएर दगुर्ने भयौ नि, त्यसैले दुखेको हो । म मालिस गरिदिन्छु अनि सन्चो हुन्छ । 

नभन्दै मालिसपछि सन्चो हुन्थ्यो । हामी सबैले अनुभव गरेको कुरा हो– हामी छिटो हिँड्दा, दौडिँदा वा  कसरत गर्दा मुटु छिटो छिटो धड्किन्छ । अनि सास छिटो छिटो चल्छ । शरीर गलेको वा थाकेको महसुस हुन्छ । यस्तो किन हुन्छ ? यसबारेमा चर्चा गरौँ ।

जब बढी शारीरिक परिश्रम गर्छौं वा छिटो छिटो दौडिन्छौँ तब हाम्रो शरीरलाई सामान्यभन्दा बढी शक्तिको आवश्यकता हुन्छ । यो आवश्यकता पूरा गर्न मांसपेशीबाट बढी शक्ति उत्पादन गर्नुपर्ने हुन्छ । मांसपेशीबाट बढी शक्ति उत्पादन गर्न खाद्य तत्वको ज्वलन सामान्यभन्दा बढी गर्नुपर्ने हुन्छ । जसका लागि थप अक्सिजन आवश्यक पर्दछ । यस अवस्थामा शरीरलाई आवश्यक पर्ने थप अक्सिजन आपूर्ति गर्न हामीले छिटो छिटो सास फेर्नु पर्दछ, जसले गर्दा हामीलाई स्वाँ स्वाँ हुन्छ । हामीले नाकबाट लिएको अक्सिजन फोक्सोमा पुग्छ । फोक्सोबाट अक्सिजन रगतमा मिसिएर शरीरभर मांसपेशीमा सञ्चार हुने हुँदा मुटुले पनि फोक्सोकै गतिमा आफ्नो धड्कनको गति बढाउँछ । यसले गर्दा फोक्सो सँगसँगै मुटुको धड्कन पनि बढ्न जान्छ ।

सामान्य अवस्थामा हामीले एक मिनेटमा १५ पटक सास फेर्छौं तर छिटो दौडदा वा उकालो चढ्दा एक मिनेटमा ४० देखि ६० पटकसम्म सास फेरिन्छ । सामान्य अवस्थामा प्रतिमिनेट १२ लिटर हावा शरीरमा प्रवेश गर्छ तर बढी शारीरिक परिश्रम गर्दा प्रतिमिनेट एक सय लिटरसम्म हावा शरीरले लिने गर्दछ । शरीरमा मुटुको धड्कन बढ्दा रक्तसञ्चारको गति पनि बढ्न जान्छ । यसले गर्दा शरीरका तन्तुमा अक्सिजन र खाद्य तत्वको आपूर्ति सहज हुन्छ । साथै शरीरबाट कार्बन डाइअक्साइड र अन्य विकार तत्व बाहिर फाल्न पनि मद्दत मिल्दछ । यसले फोक्सो र मुटुलाई पनि स्वस्थ राख्दछ ।

सामान्य शारीरिक परिश्रम र कसरत गर्दा शरीर त्यति दुखेको महसुस हुँदैन तर कडा परिश्रम गर्नु पर्दा हाम्रो शरीर दुख्छ । यस्तो हुनुको पनि कारण छ । शरीरलाई एक्कासि बढी शक्ति आवश्यक पर्दा सामान्य अवस्थामा गरिने श्वास प्रश्वास (एरोविक) प्रक्रियाबाट आपूर्ति हुने शक्तिले मात्र पुग्दैन । अनि हाम्रो शरीरका मांसपेशीले अक्सिजनबिना एनारोविक प्रक्रियाबाट त्यो शक्ति आपूर्ति गर्नुपर्ने हुन्छ । जसको फलस्वरूप मांसपेशीमा ल्याक्टिक एसिड उत्पन्न हुन पुग्दछ । यसले गर्दा मांसपेशी दुःखेको महसुस हुन्छ । कतिपय कडा परिश्रममा शरीरका मांसपेशी च्यातिने हुनाले पनि लामो समयसम्म दुखाइ रहिरहने गर्दछ ।   

मुना