• १९ मङ्सिर २०८२, शुक्रबार

पर्यटकबाट ८० लाख राजस्व सङ्कलन

blog

गुणबहादुर रोका 
सुलीकोट, मङ्सिर १९ गते ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप ) आउने आन्तरिक तथा बाह्रय पर्यटकबाट ८० लखा ९० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक वैभबले भरिपूर्ण चुमनुब्री क्षेत्रमा पछिल्ला वर्षहरुमा पर्यटकको आकर्षण बढेपछि राजस्व सङ्कलनमा उत्साहजनक वृद्धि भएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८२/०८३ को साउन महिनादेखि कात्तिकसम्म सात हजार नौ सय विदेशी र ९५० जना स्वादेशी पर्यटकले मनासलु क्षेत्र भ्रमण गर्दा गाउँपालिकाले लिइएको पर्यटन करबाट ८० लाख ९० हजार रुपियाँ राजस्व सङ्कलन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।

‘‘पालिकाको आर्थिक ऐन २०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग एक हजार र स्वादेशीसँग दुई सय रुपियाँ राजस्व उठाउने निर्णय गरेका थियौँ’’, प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछानेले भन्नुभयो, ‘‘सोही अनुसार २०८१ को भदौ महिनाबाट शुल्क उठाउन सुरु गरी पर्यटन शुल्क बापत पालिकाले गत आर्थिक वर्ष एक करोड १९ लाख रुपियाँ सङ्कलन गरेको होे ।’’

गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवेश अनुमति शुल्क, पर्यटकिय गतिविधी अनुमति, स्थानीय सेवा कर तथा संरक्षण क्षेत्र उपयोग शुल्क जस्ता शीर्षकमार्फत राजस्व उठाएपछि आयमा उल्लेख्य वृद्धि भएको प्रमुख प्रशासकिय अधिकृत लामिछनेको भनाइ छ ।

‘‘मनासलु पदमार्गले विश्वभरका पर्यटकलाई चुमनुब्री गाउँपालिकातर्फ तान्दै आएको छ,’’ पालिकाका अध्यक्ष निमा लामाले भन्नुभयो, ‘‘पर्यटकको अत्यधिक मात्रामा बढेको चहलपहलले गाउँपालिकाको आर्थिक स्रोत विस्तारमा महत्त्वपूर्ण योगदान पु–याएको छ ।’’

राजस्व वृद्धि केवल सङ्ख्यात्मक उपलब्धी मात्र नभई स्थानीयको रोजगारी, सेवा विस्तार, पर्यटन प्रवर्धनर प्राकृतिक स्रोत संरक्षणमा थप मजबुत बलियो आधार तयार पार्ने महत्त्वपूर्ण कदम भएको गाउँपालिकाले जनाएको छ ।

सङ्कलित राजस्वमध्ये पालिकाले थप दुई करोड ३० लाख रुपियाँ विनियोजन गरेर पूर्वाधार निर्माणअन्तर्गत पदमार्ग निर्माण, झलुङगे पुल निर्माण, धार्मिक गुम्बाहरु मर्मत, मनासलु क्षेत्रमा फोहोर मैला व्यवस्थापन र स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा खर्च हुँदै आएको पालिका अध्यक्ष लामाको भनाइ छ ।

गाउँपालिकाले आगमी दिनमा जिम्मेवार पर्यटन, दिगो विकास र प्राकृतिक स्रोत संरक्षणलाई प्राथामिकता दिने प्रतिबद्धता व्यक्त गर्दे चुमनुब्री गाउँपालिकालाई देशकै नमुना पर्यटन गन्तव्यको रुपमा स्थापित गर्न योजना समेत सार्वजानिक गरेको छ ।