• १९ मङ्सिर २०८२, शुक्रबार

म्याग्दे गाउँपालिकामा नियमित आँखा उपचार सेवा सुरु हुने

blog

सम्झौताको क्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायत । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर १९ गते ।
म्याग्दे गाउँपालिकाका बासिन्दाले अब स्थानीय तहमै नियमित आँखा उपचार सेवा पाउने भएका छन् । गाउँपालिका र पोखरास्थित हिमालय आँखा अस्पतालबीच  सम्झौतापछि थर्पु आधारभूत अस्पतालमार्फत दैनिक आँखा परीक्षण सेवा प्रदान गर्ने तयारी गरिएको छ ।

सम्झौताअनुसार पुस ३ गतेदेखि म्याग्दे–४ स्थित थर्पु अस्पतालमा अस्पतालका प्राविधिकद्वारा आँखासम्बन्धी सेवा सञ्चालन हुनेछ । आवश्यक उपकरण तथा प्राविधिक जनशक्ति हिमालय आँखा अस्पतालले उपलब्ध गराउनेछ भने सेवा सञ्चालन तथा समन्वयको जिम्मा म्याग्दे गाउँपालिकाले लिनेछ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले  अब साधारण आँखाको उपचारका लागि पोखरा धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘‘हामी नागरिकलाई नजिकमै गुणस्तरीय सेवा उपलब्ध गराउने महत्वपूर्ण कदम चाल्न सफल भयौँ ।” उहाँले सेवा नियमित, पारदर्शी र दिगो रूपमा सञ्चालन गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

उक्त सेवाको प्रभावकारिता बढाउन आँखा उपचार केन्द्र सहयोग समिति गठन गरिनेछ । समितिमा थर्पु अस्पताल व्यवस्थापन समिति, वडा प्रतिनिधि, स्वास्थ्य शाखा तथा अस्पताल व्यवस्थापकको सहभागिता रहनेछ । उपाध्यक्ष बालकृष्ण घिमिरेले यस पहलले समुदायको स्वास्थ्य पहुँचमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गर्दै भन्नुभयो, “दृश्य शक्ति बचाउन समयमै उपचार आवश्यक हुन्छ । यस्तो सेवा गाउँमै उपलब्ध हुनु हाम्रो ठूलो उपलब्धि हो, हामी सेवाको प्रभावकारिता बढाउन निरन्तर साथ दिन्छौँ ।”

सेवा दिगो बनाउन गाउँपालिकाले अस्पताललाई वार्षिक एकमुष्ट ६ लाख रुपियाँ उपलब्ध गराउने छ । त्यस्तै, सेवाबाट सङ्कलित रकम गाउँपालिकाको आम्दानीमा समावेश हुने सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । हालै पोखरामा गरिएको सम्झौता हस्ताक्षर कार्यक्रममा गाउँपालिकाका पदाधिकारी, स्वास्थ्यकर्मी तथा अस्पताल प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।