बुलबुले समाचारदाता
सुर्खेत, मङ्सिर १९ गते । भेरी लिफ्टिङ आयोजना अन्तर्गत रुख कटानको काम अन्तिम चरणमा पुगेको छ । वीरेन्द्रनगरमा दीर्घकालीन विकल्पका रूपमा भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउने परियोजना अनुरूप काम धमाधम अघि बढेको हो । यो आयोजना अन्तर्गत रुख कटानको काम अन्तिम चरणमा पुगेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना एकाइका प्रमुख सञ्जीवकुमार साहले बताउनुभयो । नौ सय रुख कटान गरिएको छ । वीरेन्द्रनगर नगरपालिका ८, ११ र १२ का सामुदायिक वनका रुख पहिलो चरणमा कटान गरिएको छ ।
दोस्रो चरणमा लेकबेँसी नगरपालिका–१० मा रुख कटान गरिने छ । वीरेन्द्रनगर नगरपालिका ८, ११ र १२ तथा लेकबेँसी नगरपालिका–१० मा पर्ने ३.२ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग अनुमति प्राप्त भइसकेसँगै आयोजनाले रुख कटानको काम धमाधम अघि बढाएको हो । एक हजार पाँच सय रुख कटानको अनुमति पाएको आयोजना प्रमुख साहले बताउनुभयो ।
यस्तै आयोजना अन्तर्गत पाइपलाइन विस्तारको काम पनि धमाधम भइरहेको छ । वीरेन्द्रनगर उपत्यकाभित्र ३५ किलोमिटर पाइपलाइन विस्तार गर्न लागिएको हो । पाइपलाइन विस्तारसँगै अन्य कामले पनि गति लिने भएकाले प्राथमिकतासाथ काम अघि बढाइएको छ । अहिले १३ किलोमिटर पाइपलाइन विस्तारको काम सकिएको खानेपानी क्षेत्र पूर्वाधार सहयोग आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा सबै स्थानमा पाइपलाइन विस्तार गरिसक्ने गरी काम थालिएको हो । आयोजना अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–११, अमृतडाँडामा पनि पूर्वाधार निर्माणका काम थालिएको छ । पर्खाल निर्माणको काम सुरु गरिएको छ । अबको केही दिनमा अन्य काम पनि सुरु गरिने जनाइएको छ । अमृतडाँडामा तीन वटा पानी प्रशोधन केन्द्र निर्माण गरिने छ । त्यहाँ ९० लाख लिटरको पानी प्रशोधन केन्द्र निर्माण गरिने आयोजना प्रमुख साहले बताउनुभयो ।
भेरीको पानी सिधै अमृतडाँडामा खसालिने छ । निर्माण प्रव्रिmया थालिएदेखि हालसम्म १३ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । पाइपलाइन विस्तार र रुख कटानको काम धमाधम भइरहेको छ । बाँकी कामलाई पनि धमाधम अघि बढाएर तोकिएकै लक्ष्यमा काम गर्ने गरी अघि बढेको आयोजनाले जनाएको छ । आयोजना र नगरपालिकाको संयुक्त समन्वयमा काम भइरहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी आयोजनाको सम्झौता गरिएको छ । २०८१ भदौ १२ देखि २०८४ भदौ १२ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । तीन अर्ब पाँच करोड रुपियाँमा ठेक्का सम्झौता गरिएको छ । भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कुल लागतको ७० प्रतिशत खर्च विश्व बैङ्कले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ ।