• १२ चैत २०८१, मङ्गलबार

मुक्तिनाथ मन्दिरको खातामा साढे ९ करोड बढी भेटी

blog

मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनका लागि लाइनमा बसेका तिर्थयात्री । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), चैत १० गते । मुस्ताङको मुक्तिनाथ विकास समितिको कोषमा ९ करोड ६९ लाखभन्दा बढी आर्थिक मौज्दात रहेको छ । हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थलको दर्शनका लागि आउने तीर्थालु चढाएको दानपेटिकाबाट फागुन मसान्तसम्म ९ करोड ६९ लाख १५ हजार ४१ रुपैयाँ बैंकमा मौज्दात जम्मा भएको हो । 

नेपाली, भारतीय र तेस्रो मुलुकबाट आउने धार्मिक भक्तजन मन्दिर परिसर बाहिर र भित्र राखिएको पाँचवटा दानपेटिका, नगद रसिद काँटेर गरिएको दानबाट संकलन गरिएको आर्थिकलाई ५ वटा बैंकमा राखिएको समितिका सदस्य सचिव एवम् जिल्ला मालपोत कार्यालयका प्रमुख सुर्यप्रसाद अर्यालले बताउनुभयो । "नगद रसिद र दानपेटिकाको भेटीलाई बैंकमा जम्मा गरिन्छ, कर्मचारीको तलबसुविधा र आवश्यक क्षेत्रमा खर्च हुन्छ," सदस्य सचिव अर्यालले भन्नुभयो । 

समितिले सांग्रिला डेभलपमेन्ट बैंकमा ३ करोड ८४ लाख रुपियाँ र प्रभु बैंकमा २ करोड ९२ लाख रुपियाँ मुद्धतीमा राखेको छ । कोषको बाँकी रकम माछापुच्छे« बैंक, नेपाल बैंक, कृषि विकास बैंकमा रहेको छ । मुक्तिनाथ मन्दिरमा बर्षेनी १० लाखको हाराहारी तिर्थयात्री पुग्ने गरेको अनुमान छ । 

मन्दिरमा पूजाआजा गर्ने नेपाली र भारतीयले मुल मन्दिरभित्र चढाएको भेटीमा समितिको पहुँच छैन । समितिले भेटीबाटै पूजारीलाई मासिक ५ हजार, रसिद काट्ने कर्मचारी र सरसफाइकर्मी सहित ३ जनालाई मासिक ६२ हजार खर्च हुने गरेको छ । 

वार्षिक चाडपर्व खर्च सहित ८ लाखको हाराहारीमा खर्च हुने गरेको छ । पछिल्लो समय मन्दिरमा भक्तजनको सहजताका लागि डिजिटल चन्दा भुक्तानी गर्ने सुविधाले भेटी संकलनमा केही राहत मिलेको समितिले जनाएको छ । हाल मन्दिरमा संकलन भएको भेटीलाई कर्मचारीको तलबसुविधा बाहेक अन्यत्र खर्च हुँदैन । 

मुक्तिनाथ विकास समितिको अध्यक्ष प्रजिअ र सदस्य सचिव मालपोत कार्यालयका प्रमुख हुने विधानमा व्यवस्था छ । मन्दिर क्षेत्रमा वर्षातको समयमा बस्ने, स्नान, शौचालय सहित अन्य आवश्यकता भएका संरचनाहरु समेत बनाउन सकिएको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र पुरातत्व विभागबाट मुक्तिनाथ गुरुयोजना तयार भएपनि कार्यान्वयन प्रभावकारी नभएको स्थानीयबासीको भनाइ छ । 

वि.स २०६३ सालमा समिति गठन भएपछि मन्दिरको विकास, संरक्षण, व्यवस्थापन र भक्तजनले दान गरेको रकम सही सदुपयोगका लागि गरिएका प्रयासहरूकै परिणाम अहिलेको कोष रहेको छ ।