• ३ साउन २०८१, बिहिबार

सम्मान ग्रहणमा खर्च हुँदैछ समय

blog

जीवछ यादव

लहान, जेठ २० गते । नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान ग्रहण कार्यक्रममा जान भ्याइनभ्याइ भएको छ । सम्मान ग्रहणमा समय खर्च भइरहेको छ जनप्रतिनिधिको । दैनिक चार÷पाँचवटा सम्मानका कार्यक्रममा सहभागी हुनुपर्ने अवस्था रहेको नवनिर्वाचित जनप्रतिनिधिले बताएका छन् । 

“जनताले उत्साही हुने किसिमको मत दिएर गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराएकोले हरेक दिन कुनै न कुनै सङ्घ संस्थाले सम्मान गर्ने कार्यक्रम आयोजना गरिरहेका छन् । मतदाताले गरेको माया, स्नेह र सम्मान ग्रहण गर्नै प¥यो,” लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले भन्नुभयो । 

लायन्स क्लब अफ लहान फूलबारीले आयोजना गरेको कार्यक्रममा सम्मान ग्रहण गर्दै उहाँले भन्नुभयो, “सम्मान कार्यक्रमबाट अझै जिम्मेवार हुन र चुनावमा मतदातासँग गरेका प्रतिबद्धताहरू पूरा गर्न हामीलाई हौसला मिलेको छ ।”

यस्तै भगवान्पुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले अहिले आफूहरूलाई सम्मान कार्यक्रमको ओइरो लागेको बताउनुभयो । “आज यो वडामा भोलि त्यो वडामा, पालिकाभित्र रहेका सङ्घ संस्था, सामुदायिक विद्यालयले समेत सम्मान कार्यक्रम राखेर इमानदारीपूर्वक पालिकावासीको सेवा गर्न सचेत गराइरहेका छन्” उहाँले भन्नुभयो । धनगडीमाई नगरपालिका प्रमुख शिवशङ्कर महतो भन्नुहुन्छ, “सम्मान तथा बधाई कार्यक्रमबाट चुनावमा देखिएको तिक्तता र आपसी मनमुटाव हटाउन सकारात्मक सन्देश प्रवाह भइरहेको छ ।’

सम्मान तथा बधाई कार्यक्रममा चुनावमा पराजित भएका उम्मेदवार तथा दललाई समेत आमन्त्रित गरेर कार्यक्रमको आयोजना गर्दा यसले अझै राम्रो हुने गोलबजार नगरपालिकामा निर्वाचित प्रमुख श्यामकुमार श्रेष्ठको बुझाइ छ । चुनावमा देखिएका मनमुटाव र तिक्तता बिर्सेर आपसी एकता कायम गरेर नगरपालिकाको विकासको लागि सबैको सहयोग आवश्यक रहेको धारणा राख्न यस्ता कार्यक्रममा आफू सहभागी भइरहेको सिरहा नगरपालिका प्रमुख नवीनकुमार यादवले बताउनुभयो ।