• ३ साउन २०८१, बिहिबार

मधेश प्रदेश सभाको नवौं अधिवेशन शुरु, आइतबार नीति कार्यक्रम आउने

blog

नवौं अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्नुहुँदै मुख्यमन्त्री लालवावु राउत तस्विर: धर्बेन्द्र झा, जनकपुरधाम

धर्बेन्द्र झा 

धनुषा, जेठ १९ गते । मधेश प्रदेशको प्रदेशसभाको नवौं अधिबेशन बिहीबार (आज) बाट शुरु भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको नवौं अधिबेशन प्रारम्भ गर्न पठाएको पत्र पढेर सभामुख सरोजकुमार यादवले नवौं अधिबेशन प्रारम्भ भएको घोषणा गर्नुभयो ।  

नवौं अधिवेशनको पहिलो वठकमा शुभकामना मन्तव्य राख्नुहुँदै मुख्यमन्त्री लालबावु राउतले विगत चार वर्षमा प्रदेश सरकारले समाजलाई रुपान्तरण गर्न कामकाज गरेको बताउनुभयो । उहाँले प्रदेश सरकारले चिताएका धेरै कामहरु गर्न नसके पनि प्रदेश सरकारले समाजिक रुपान्तरणको सवालमा बलियो जग बसाल्न सफल भएको बताउनुभयो । 

मुख्यमन्त्री राउतले लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन रहेको भन्दै दोस्रो कार्यकालका लागि स्थानीयतहको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको र यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी मजवुत बनाएको बताउनुभयो । उहाँले आफनो नेतृत्वको वर्तमान प्रदेश सरकारले आफनो पाँच वर्षे कार्यकालको अन्तिम पटक नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको बताउनुभयो । 

अन्य वर्षजस्तै यस वर्ष पनि आफना अनुभवकासाथ खुलेर सुझाव सल्लाह दिन प्रदेशसभा सदस्यलाई आग्रह गर्नुभयो । वर्तमान सरकारको बढी समय कानुन निर्माणमा खर्च भएको भन्नुहुँदै मुख्यमन्त्री राउतले यस वर्ष प्रदेश सरकारले शिक्षा स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको जानकारी गराउनुभयो ।

आँउदो आइतबार जेठ २ गते मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिनुभयो । प्रदेशसभाको बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।