• १९ चैत २०८२, बिहिबार

पराजयले गम्भीर शिक्षा दिएको छ, यो अस्थायी हो : बादल

blog

प्रतिनिधिसभा बैठकमा धारणा राख्नुहुँदै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल । तस्बिरः केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, चैत १९ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभा निर्वाचनमा हिजोका प्रमुख दलहरुको पराजयले गम्भीर शिक्षा दिएको र यो अस्थायी पराजय भएको बताउनुभएको छ । 

प्रतिनिधिसभा बैठकमा दलको तर्फबाट धारणा राख्नुहुँदै नेता बादलले सो कुरा बताउँदै आफूहरु इमान्दार भएर प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताउनुभयो । नेता बादलले जिज्ञासा गर्नुभयो, “कुन उद्देश्य पूर्ति गर्न भाद्र २३ र २४ गतेको घटना घटाइयो ? कुन उद्देश्यले विद्यालयका छात्रछात्राको प्रयोग गरियो ? कुन उद्देश्य पूर्ति गर्न पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई गिरफ्तार गरियो ?, कुन उद्देश्य पूर्ति गर्न देशको सार्वजनिक संरचनाहरु चलाइयो ?”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चमत्कारीक विजयका लागि उहाँले रास्वपालाई बधाई ज्ञापन गर्नुभयो । रास्वपालाई विजयी बनाउन खेल्नुभएका सबै पक्षलाई पनि उहाँले बधाई ज्ञापन गर्नुभयो । रास्वपाको विजय जादूमय विजय भएको भन्दै उहाँले विजयी बनाउने सबै पक्षलाई बधाई ज्ञापन गर्नुभयो । 

नेपाली सेना, यसअघिको सुशीला कार्की नेतृत्वको सरकार, एजनीओ–आइएनजीओ र मिडियालाई समेत उहाँले बधाई दिनुभयो । सो अवसरमा उहाँले राष्ट्रिय स्वाभिमान, राष्ट्रियता र सार्वभौमसत्ता कायम गर्न ज्यानको आहुति दिनुहुने सबै सहिदप्रति उहाँले श्रद्धाञ्जली ज्ञापन गर्नुभयो ।