• ४ चैत २०८१, सोमबार

घरजग्गाको कारोबारबाट २९अर्ब राजस्व सङ्कलन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ४ गते । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा घरजग्गाको कारोबारबाट करिब २९ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आवको साउनदेखि फागुनसम्ममा घरजग्गा कारोबारबाट २८ अर्ब ८३ करोड एक लाख ९१ हजार रुपियाँ राजस्व सङ्कलन भएको हो । गत आवको तुलनामा १४ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । 

गत आवको सो अवधिमा २५ अर्ब २१ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । गत आवको तुलनामा तीन अर्ब ५८ करोड ४६ लाख रुपियाँभन्दा बढी राजस्व उठेको विभागको तथ्याङ्क छ । प्रतिमहिना तीन अर्ब ६० करोड १२ लाख रुपियाँका दरले राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कले देखाएको छ । 

घरजग्गाको राजस्व बढे पनि कारोबार सङ्ख्या भने गत आवको भन्दा घटेको छ । गत आवको फागुनसम्म १० लाख छ हजार थान लिखत पास भएकामा चालु आवमा घटेर नौ लाख ७५ हजारमा झरेको तथ्याङ्कले देखाएको छ । कारोबारको सङ्ख्या कम भए पनि घरजग्गाको उच्च मूल्याङ्कन भएपछि राजस्व बढी उठ्छ । 

साउनमा तीन अर्ब ८३ करोड ५० लाख, भदौमा तीन अर्ब नौ करोड, असोजमा तीन अर्ब आठ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । यस्तै कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख रुपियाँ, मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख, पुसमा चार अर्ब २५ करोड २२ लाख रुपियाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ । माघमा तीन अर्ब ८७ करोड २४ लाख र फागुनमा चार अर्ब १२ करोड रुपियाँ राजस्व उठेको विभागको तथ्याङ्क छ ।

२०७६ सालमा भूउपयोग ऐन र २०७९ मा भूउपयोग नियमावली जारी भएपछि सरकारले जग्गा वर्गीकरणका लागि कित्ताकाट रोकेको थियो । यसपछि घरजग्गा कारोबारमा मन्दी आउन सुरु भएको थियो । सरकारले गत साउनबाट जग्गाको कित्ताकाट खुला गरेपछि कारोबारमा केही सुधार हुँदै गएको तथ्याङ्कले देखाएको छ ।   

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।