• १ चैत २०८१, शुक्रबार

सिदिङ्वाका सातमध्ये छ वटा वडा पूर्णखोप सुनिश्चित घोषणा

blog

पूर्ण खोप वडा घोषणामा सहयोग गर्ने सम्मानित महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १ गते। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सातमध्ये छ वटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने योजनासहित वडालाई पूर्ण खोप घोषणा गरिएको हो।

सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार हालसम्म वडा १ कालीखोला, वडा २ सादेवा, वडा ३ आङ्खोपलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। यस्तै वडा ५ लिम्बुदिन र वडा ६ मेहेले र वडा ७ सुरुम्खिमलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरी सकिएको स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार शाहले जानकारी दिनुभयो।

शाखाका प्रमुख शाहका अनुसार बाँकी रहेको वडा नं ४ साब्लाखुलाई आउँदो सोमबार पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्ने तयारी गरिएको छ। साब्लाखुलाई घोषणा गरेपछि मङ्गलबार सिदिङ्वा गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। गत फागुन १९ गतेदेखि सिदिङ्वाका वडाहरुलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्न सुरु गरिएको थियो।

गाउँपालिकाका अनुसार प्रत्येक वडामा रहेका १५ महिनाका शिशु र १६ देखि ५९ महिनाका बालबालिकालाई आवश्यक सबै खोप लगाएपछि पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएका हुन्। अब सबै सात वटै वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेपछि पालिकालाई नै घोषणा गरिने स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो।