प्रनिश गिरी
कुश्मा (पर्वत), चैत्र १ गते । कालीगण्डकी किनारमा रहेको मालढुङ्गा भन्ने स्थानमा सयौं वर्षदेखि बस्दै आएको माझीबोटे बस्ती अभाव र सङ्कटबाट गुज्रिनु परेको छ । अल्पसङ्ख्यक समुदायमा पर्ने माझीबोटेलाई राज्यले उचित संरक्षण गर्न नसक्दा कष्टकर जीवन जिउन बाध्य बनेका छन् ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका १ मा पर्ने मालढुङ्गा बजारसँगै माझीबोटे बस्ती रहेको छ । मालढुङ्गा बजारदेखि केही उत्तरतर्फ मालढुङ्गा–बेनी राजमार्ग मुन्तिर माझीबोटे बस्ती पर्दछ । माझीबोटे बस्तीमा रहेको २४ घरधुरीमा करिब एक सय जना सदस्य बस्दछन् । झुपडीमा बसोबास गर्दै आएका बोटेमाझीहरूले आर्थिक विपन्नताकै कारण शौचालय बनाउन सकेका छैनन् ।
माझीबोटे बस्तीमा न शौचालय छ न त घरघरमा पिउने पानीको धारा नै छ । नेपाल सरकारको ‘‘एक घर एक धारा’’ भन्ने सबै नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी उपलब्ध गराउने कार्यक्रमले समेत माझीबोटे बस्तीलाई कहिल्यै छोएन । समुदायकै एक व्यक्तिको पहलमा पाइप लगाएर ल्याएको पानीको धाराको भरमा सिङ्गो माझीबोटे बस्ती भरपर्नु परेको छ । पिउने पानी पनि प्रर्याप्त पाउन कठिन छ । बस्तीमा खानेपानी सुविधा पुराउने भनी चार वर्ष पहिले एक लाख रुपियाँमा निर्माण गरिएको खानेपानी ट्याङ्की अलपत्र छ । ट्याङ्कीमा पानी खसाल्न सकिएको छैन ।
माझीबोटे बस्तीका अगुवा मानबहादुर बोटेले कुश्मा नगरपालिकाको कार्यालयमा गएर शौचालय सामग्री उपलब्ध गराइ दिन भनी निवेदन दिएको वर्ष दिनभन्दा बढी भइसकेको छ, तर पटक–पटक सहयोगका लागि अनुरोध गर्दा समेत कुनै सुनुवाइ नभएको दुःखेसो पोख्नुभयो । नेपाल सरकारमार्फत शौचालय बनाइदिने कुरा धेरै पहिले सुनेको र वडा कार्यालयका प्रतिनिधले भनेपछि घर नजिकै खाल्डो खनेको बोटमाझीहरूको भनाइ छ ।
केही माझीबोटेहरूले जेनतेन कच्ची शौचालय बनाए, तर धेरैले आर्थिक अभावकै कारण बनाउन सकेका छैनन् । शौचालय बनाउन भनी खनिएको खाल्डो वर्षौदेखि उस्तै छ । माझीबोटे समुदायका ३८ वर्षे युवा गणेश माझीले भन्नुभयो, ‘‘शौचालय बनाउन चाहिने सिमेन्ट, छड, पाइप, टिन, साइफन पाउने हो भने हामी आफैँले श्रम गरी शौचालय बनाउन सक्ने थियौं । दैनिक मजदुरी गरी खानुपर्ने हामीसँग सामान खरीद गर्ने पैसा छैन ।’’
पर्वतलाई २०७१ सालमा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । पर्वतलाई खुला दिसामुक्त जिल्ला भनी घोषणा गरिएको एक दशकभन्दा बढी भइसक्दा पनि माझीबोटे बस्तीका १४ घरधुरीमा भने अझै आफ्नै शौचालय छैन । मालदुङ्गाका माझीबोटेलाई दिसापिसाब गर्न पर्यो भने कि छिमेकीकोमा जानुपर्यो कि त भने कालीगण्डकी किनारतिर लाग्नुपर्ने अवस्था छ । माझीबोटेहरू कम पढेलेखेका छन् । धेरैजसो माझीबोटेहरू ज्याला मजदुरी, केही माछा मार्ने र ड्राइभर काम गरी दैनिक गुजारा चलाउछन् । माझीबोटेका महिलाहरू धेरैले कालीगण्डकी किनारबाट बालुवा उठाउने काम गर्दछन् ।
माझीबोटेका पुर्खाहरूले कालीगण्डकी किनारमा माछा मार्ने र सुन चाल्ने गरी जिविकोपार्जन गरेका थिए । नयाँ पुस्ताका माझीबोटेलाई भने पुर्खौली पेसाले अब गुजारा धान्न छोडिसकेको छ । आफ्ना पुर्खापुस्ताले झैं माछा मारेर जीविकोपार्जन गरौं भने पनि बोटेमाझीका सन्तानलाई सजिलो छैन । कालीगण्डकी नदीमा पहिले जस्तो धेरै माछा पाउनै सकिँदैन ।
माझीबोटे समुदायका अगुवा ७० वर्षे याम बहादुर बोटे भन्नुहुन्छ, ‘‘पहिले हाम्रा बाहरूले तीनदेखि पाँच धार्नीसम्म एकै दिन माछा मार्ने गर्दथे । पहिले जस्तो कालीगण्डकीमा अहिले माछा पाइनै छोडेको छ । डोजर र एक्साभेटरले किनारबाट बालुवा र ढुङ्गा निकाल्दा कालीगण्डकी नदी गहिरो भइगएको छ । नदीमा करेन्ट लगाएर माछा मार्ने र बजारको फोहोर फाल्दा पनि माछा पाउन कठिन भएको हो । केही दशक यता माछा मार्ने बोटेमाझीहरूको सङ्ख्या समेत घटेको छ ।’’