• १ चैत २०८१, शुक्रबार

पदमार्गको डिपिआर बनाउँदै ताराखोला

blog

ताराखोला गाउँपालिका २ अर्गलको भातखाने डाँडामा रहेको पालिकाको प्रशासनिक केन्द्र । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत १ गते । जैविक गाउँपालिकाको समेत पहिचान बनाएको ताराखोलाले ग्रामिण क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित ओझेलमा परेका पर्यटकीय स्थललाई पदमार्गमार्फत जोड्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने भएको छ ।

ताराखोलाको पूर्वमा काठेखोला गाउँपालिका र पश्चिममा ढोरपाटन नगरपालिका, उत्तरमा म्याग्दी जिल्ला र दक्षिणमा गलकोट नगरापालिका पर्छन् । पाँच वटा वडा अर्गल, अमरभूमि, हिल र ताराका पर्यटकीय क्षेत्र समेटिने गरी पदमार्ग निर्माण गर्ने गरी डिपिआर बनाउने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्यलाल विकले जानकारी दिनुभयो । 

भौगोलिक तथा सांस्कृतिक रूपमा विविधतायुक्त ताराखोलामा जनजाति समुदायको बहुल्यता रहेको छ । अर्गलको भुस पोल्ने र सिस्नो खोस्ने पर्व, ताराको असारे मेला सदियौंदेखि चल्दै आएका पर्व र मेला हुन् । 

अन्नपूर्ण चक्रिय पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ताराखोलाका पर्यटकीय क्षेत्रसँग जोड्न पदमार्ग निर्माण गर्नेगरी डिपिआर तयार गर्ने काम भइरहेको विकको भनाइ छ । 

ताराखोला गाउँपालिका २ अर्गलमा रहेको भातखाने डाँडा, सहिद पार्कहुँदै थामीको धुरी, तिनचुले, निस्कोट देउराली, म्याग्दी जिल्लाको मालिका गाउँपालिकाको रुम देउराली, ताराखोलाकै डुडेलेक, लम्मुधुरी, खिउँ ताल, गलकोटको घुम्टे, गाईघाट झरना, मोतीमारे, काठेखोला गाउँपालिकाको घोडाबाँधे, धम्जा देउरालीहुँदै थामीको धुरीसम्म पदमार्ग निर्माण गरिने छ । 

ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ का अनुसार, पदमार्गमा पर्ने पाँच स्थानमा रात्री बासस्थानलाई व्यवस्थित गर्न संरचना समेत निर्माण गरिने छ । गाउँपालिकाबाट आर्थिक वर्ष २०८१-८२ मा विनियोजित ४० लाख बजेटबाट अहिले डिपिआर तयार गर्ने काम चलिरहेको छ । 

विकले पालिकाको प्रशासनिक केन्द्र रहेको अर्गलको भातखाने डाँडाबाट सहिद पार्कसम्म स्थानीय स्तरमा उपलब्ध स्लेट ढुङ्गाको प्रयोग गरी पदमार्ग निर्माण गरिने जानकारी दिनुभयो ।