वासिङ्टन, चैत १ गते । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा अमेरिकी एयरलाइन्सको विमानमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ ।
विमानमा १७२ जना यात्रु र चालक दलका छ जना सदस्य रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
डेनभर अन्तर्राष्ट्रिय विमानस्थलले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा सबै यात्रुलाई विमानबाट सकुशल बाहिर निकालिएको तर १२ जनालाई सामान्य घाइते अवस्थामा अस्पताल लगिएको जनाएको छ ।
सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको श्रव्यदृष्यहरूमा टर्मिनलनजिकै भुइँमा जेटको वरिपरि धुवाँ उडिरहेको र आपतकालीन सेवाहरू आइपुग्दा यात्रुहरू पखेटामा उभिएको देखिन्छ ।
कोलोराडोबाट डलास–फोर्ट वर्थका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १००६ लाई डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको एफएएले जनाएको छ ।
एफएएले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अवतरण पछि र गेटमा ट्याक्सी चलाउने क्रममा एउटा इन्जिनमा आगो लाग्यो र यात्रुहरूलाई स्लाइडको प्रयोग गरेर विमानबाट बाहिर निकालिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी उड्डयन एजेन्सीहरूको खर्च कटौती गर्ने प्रयास र शृङ्खलाबद्ध घटनापछि सुरक्षाको बारेमा चिन्ता व्यक्त भइरहेका बेला पछिल्लो घटना भएको हो । एफएएले पछिल्लो घटनाको अनुसन्धानका लागि निर्देशन दिइसकिएको बताएको छ । रासस/एएफपी