जनार्जन खत्री
सर्लाही, चैत १ गते । नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–४, मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
बिहीबार राति गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले पैदल हिँडिरहेका मानिसलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
एम्बुलेन्सको ठक्करबाट मलङ्गवा नगरपालिका–३, बस्ने ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिनुुभयो । दुर्घटनामा घाइते मलङ्गवा नगरपालिका–४, का ५२ वर्षीय जितु राय र भारत सीतामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि शुक्रबार बिहानपख जनकपुर पठाइएको छ ।
दुर्घटनामा संलग्न एम्बुलेन्स फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राईले फरार रहेको एम्बुलेन्सको नम्बर खुलिसकेको र खोजी भइरहेको बताउनुभएको छ ।
एम्बुलेन्स नियन्त्रणमा नरहेकाले नम्बर भने गोप्य राखिएको प्रहरीले जनाएको छ ।