विजयकुमार साह
ढल्केबर, चैत १ गते । धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोक मार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
जनकपुरबाट राजविराजतर्फ गइरहेको १४४१ नम्बरको बस शुक्रबार बिहान ९ बजे दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रमा पठाइएको बताउनुभयो । उहाँले हालसम्म घाइतेहरूको विवरण सङ्कलन गरिरहेको बताउँदै घटनामा करिब ६ जनालाई गम्भीर चोटपटक लागेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्यलाई सामान्य चोटपटक लागेको छ । घाइतेहरूको उपचार ढल्केबरस्थित निजी स्वास्थ्य केन्द्र र प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।
प्रारम्भिक जानकारीअनुसार बसको ब्रेक जाम भएर दुर्घटना भएको खुल्न आएको प्रहरी निरीक्षक यादवको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।