• २९ फागुन २०८१, बिहिबार

कर्णालीको पानी तानेर खेतीपाती

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन २९ गते । खेतीयोग्य जमिनमा सिँचाइका लागि कर्णाली नदीको पानी लिफ्ट प्रणालीबाट तानेर ट्याङ्कीमा खसालिएको छ । सौर्य ऊर्जा प्रणाली प्रयोग गरेर नदीको पानी तानेर ट्याङ्कीमा खसाल्ने काम सफल भएको छ । 

कर्णाली नदी पानी सदावहार बग्ने तर माथिको सर्केगाड गाउँपालिका–१ र अदानचुली गाउँपालिका–२ को सिमानामा पर्ने तुम्चको खेतीयोग्य जमिनमा लगाएको बाली खडेरीले सुक्ने पीडा थियो । त्यही भएर लिफ्ट प्रणालीबाट कर्णाली पानी ट्याङ्की खसाल्ने र त्यसबाट सिँचाइ गरिने छ । सर्केगाडतर्फको तुम्चगाउँका किसान जानकी मल्लले अब कर्णालीको पानीबाट सिँचाइ गर्ने दिन नजिकिएको बताउनुभयो । 

कर्णाली नदीनजिकै बग्ने तर हुम्लाको फाँट भनेर चिनिने तुम्चको खेतीयोग्य जमिनलाई सधैँ सिँचाइको अभाव हुने गर्दथ्यो । अब सदावहार सिँचाइ गर्न पाउने आशा पलाएको बताउँदै उहाँले जमिनमा बाह्रै महिना खेती गर्न सकिने जाँगर पलाएको उल्लेख गर्नुभयो । 

पहिलो पटक लिफ्ट प्रणालीबाट तुम्चमा कर्णाली नदीको पानी तानेर पाँच सय मिटरमाथि निर्माण गरिएको ट्याङ्कीमा खसालिएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताउनुभयो । यसका लागि २०७९ सालको असारमा निर्माण कम्पनी र कार्यालयबिच सम्झौता भएको थियो । यो पानी खेतीयोग्य ५० हेक्टर जमिनमा सिँचाइका लागि वितरण गरिने उहाँले बताउनुभयो । खेतीयोग्य जग्गामा सिँचाइ नहर निर्माण गर्ने कार्य भइरहेको र आगामी असारसम्म सिँचाइ सञ्चालनमा आउने छ । यसबाट तुम्चगाउँका २५० घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् ।