• २६ वैशाख २०८१, बुधबार

नेपालमा उद्योग खोल्न जापानलाई चेम्बरको आग्रह

blog

काठमाडौं, जेठ १८ गते। नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापान समक्ष आग्रह गरेको छ। उद्योग, जलविद्युत, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो। नेपालका लागि जापानी राजदूत किकुता युताकासँग बुधबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले जापानी लगानीको सुरक्षाका लागि आफूहरुले सरकारसँग पहल गर्नेसमेत बताउनुभएको छ। 

जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्र्दभमा अध्यक्ष मल्लले नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुहरुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गर्नुभयो। 

 “वैदेशिक लगानीको सुरक्षाका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरेको छ, आगामी वर्षको बजेटमा सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जापानको लगानी सुरक्षाका लागि हामी प्रतिबद्ध छौँ,” अध्यक्ष मल्लले भन्नुभयो।

अध्यक्ष मल्लले जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्दर्भमा नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गर्नुभयो। नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जापानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार गर्न राजदूतसमक्ष आग्रह गर्नुभयो।

‘‘नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ६६ वर्ष पूरा भएको छ, जापानले जाइकालगायत आफ्ना विभिन्न दातृ निकायमार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ, दुई मुलुकबीच आर्थिक सम्बन्ध पनि उच्च छ, यसलाई व्यावसायिक गतिविधिमार्फत हामी अझै अघि बढाउन चाहान्छौँ”, उहाँले भन्नुभयो।

सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष मल्लले  नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूतसँग आग्रह गर्नुभएको छ। भेटमा राजदूत युताकाले नेपाल र जापानबीचको दुईपक्षीय सम्बन्ध ऐतिहासिक भएको बताउनुभयो। राजदूत युताकाले भन्नुभयो, “दुई देशबीचको सम्बन्ध बलियो छ, यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहान्छौँ।”

उहाँले नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य जारी रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। राजदूतले नेपाल सरकारलाई जापान सरकारको तर्फबाट र आफ्ना दातृ निकायमार्फत् लामो समयदेखि सहयोग हुँदैआएको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने बताउनुभयो।

जपानको लगानी भित्र्याउनका लागि नेपालले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्ने राजदूत युताकाको भनाइ छ।