• २४ असार २०८१, सोमबार

कृषकलाई सहुलियत दरमा उन्नत जातको धानको बिउँ वितरण

blog

विजयकुमार साह 

ढल्केवर, जेठ १८ गते । धनुषाको मिथिला नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई सहुलियत दरमा उन्नत जातको धानको बिउँ वितरण शुरु गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउँ वितरण शुरु गरेको हो । 

नगरपालिकाले खुला टेण्डरमार्फत ७२ रुपियाँमा खरिद गरेर किसानलाई ३६ रुपियाँमा धानको बिउँ उपलब्ध गराइरहेको छ । मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महतोले वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर क्षेत्रभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउँ वितरण गरिरहेको बताउनुभयो । २२ टनभन्दा बढी धानको बिउँ वितरण गरिने जानकारी उहाँले दिनुभयो । 

कृषि शाखाका प्रमुख महतोले धानको बिउँ राख्नेबेलामा किसानलाई धानको बिउँ अभाव नहोस् भनेर खुला टेण्डरमार्फत खरिद गरेर सयममै उपलब्ध गराइरहेको जानकारी दिनुभयो । एक सातादेखि धानको बीउँ वितरण गर्ने कार्य गरिरहेको र अझै केही दिनसम्म चल्ने बताउनुभयो ।  

किसानलाई आवश्यकताअनुसार धानको बिउँ उपलब्ध गराइरहेको जानकारी दिनुहुँदै कृषि शाखा प्रमुख महतोले सुख्खा–२, सुख्खा–३, सावा मन्सुरी सबवन, साबित्री र रामधान गरी पाँच किसिमका धानको बिउँ वितरण गरिरहेको बताउनुभयो । 

अनुदानमा उन्नत जातको धानको बिउँ पाउँदा किसानसमेत हर्षित छन् । मिथिला नगरपालिका–३ हरिहरपुरका किसान मनोज महतोले यस वर्ष समयमै धान रोप्न सकिने बताउनुभयो । धानको बिउँजस्तै मलसमेत सहजरुपमा पाउन सकेमा उत्पादनमा वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।