• २ माघ २०८१, बुधबार

हरेक महिना १२ देखि १५ करोड डलर घट्दै : सांसद पाण्डे

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १८ गते । नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९–०८० को बजेटमाथिको छलफलमा भाग लिनुहुँदै सांसद पाण्डेले डलरको सञ्चिति घट्ने क्रम जारी रह्यो भने नेपालको अवस्था श्रीलङ्काको जस्तो हुनेसक्ने चेतावनी दिनुभएको हो ।

‘‘यस वर्षको हाम्रो नौ अरब ६१ करोड डलर रिजर्भ छ । दुई अर्ब ७० करोड डलरको साउनदेखि अहिलेसम्म डिपोजिट घटेको छ । हरेक महिना १२ देखि १५ करोड डलर घट्दैछ ।,’’ उहाँले भन्नुभयो, ‘‘डलरको डिपोजिट घटिरह्यो भने हाम्रो आयात घट्नेछ । हामीले 'फरेन करेन्सी' दिन सक्दैनौं ।’’

तपाईंले फरेन करेन्सी दिन सक्नुभएन भने १२ खर्ब ४० अर्ब रेभिन्यू कसरी कलेक्ट गर्न सक्नुहुन्छ ? भनेर उहाँले प्रश्न गर्नुभयाे ।

पूर्वअर्थमन्त्री समेत रहनुभएको पाण्डेले कृषि मलको आपूर्तिबिना कृषि उत्पादन कसरी हुनसक्छ भनेर पनि प्रश्न गर्नुभएको छ ।

‘‘सरकारले बजेट मार्फत् धान, मकै, गहुँलगायतका केही कृषिजन्य वस्तुको आयात ३० प्रतिशतले कटौती गर्ने भनेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘बजेट पूरै कृषि उत्पादन केन्द्रित भएको भनिएको छ । तर, मल नै नभई कसरी उत्पादन वृद्धि हुन्छ, अर्थमन्त्रीज्यू ? चालू आर्थिक वर्षको भन्दा अझ मल आयातमा बजेट कटौती गरेर कसरी उत्पादन बढाउन सकिन्छ ?’’