• २६ वैशाख २०८१, बुधबार

धुलाम्मे खेलमैदानमा फुटबल प्रशिक्षण

blog

हुम्ला (गोरखापत्र), जेठ १८ गते । हुम्लामा कलिला खेलाडीहरू धुलाम्मे खेलमैदानमा फुटबल खेलको अभ्यास गर्न बाध्य हुँदै आउनुभएको छ । फुटबलको अभ्यास र तालिम लिनका लागि रङ्गशाला व्यवस्थित नहुँदा साना साना खेलाडी धुलाम्मे र ढुङ्गा माटो भएको मैदान खेल्दै आउनुभएको हो । 

ग्रासरुट फुटबलको प्रशिक्षण लिइरहनु भएकी १३ वर्षकी प्रशिक्षार्थी खेलाडी सीता लामाले बाध्यताले धुलाम्मे मैदानमा सिक्दै गरेको बताउनुभयो । उहाँले यही मैदानमा फुटबल सिक्नको अन्य विकल्प पनि नभएकाले बिहान र बेलुका शनिबारबाहेक दैनिक प्रशिक्षण लिइरहेको बताउनुभयो । उहाँले दुई सिफ्टमा आफूजस्तै असी जना महिला र पुरुष प्रशिक्षार्थीहरूले ग्रासरुट फुटबलको प्रशिक्षण लिइरहेको बताउनुभयो । मैदान व्यवस्थित नहुँदा चोट लाग्ने र कपडा फोहोर हुने बढी सम्भावना भए पनि खेलाडीहरू रमाएरै सिकिरहनुभएको छ ।