• २६ वैशाख २०८१, बुधबार

पाठ्यपुस्तक असार पन्ध्रभित्र

blog

बाँके समाचारदाता

बाँके, जेठ १८ गते । लुम्बिनी प्रदेशमा नयाँ शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन नियमित हुन सकेको छैन । लुम्बिनी प्रदेशका दाङ, सल्यान, रोल्पा, पूर्वीरुकुम, पश्चिम रुकुम, बाँके र बर्दियामा पाठ्यपुस्तकको अभावमा शैक्षिक गतिविधि सञ्चालनमा समस्या देखिएको छ ।

पुस्तक वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जका प्रमुख रवीन्द्र शर्माले तीनवटा कक्षाका सम्पूर्ण सेट प्राप्त नभएका कारण विद्यालयमा सम्पूर्ण पुस्तक पठाउन नसकिएको बताउनुभयो ।

जनक शिक्षाले एजेन्सीमार्फत विद्यालयमा पुस्तक वितरण गर्दै आएको छ । जनक शिक्षाका अनुसार कक्षा ५ को नेपाली र गणित, कक्षा ६ को नेपाली, अङ्ग्रेजी र स्वास्थ्य तथा कक्षा ७ को विज्ञान र नेपाली विषयको पाठ्यपुस्तक अभाव छ । हालसम्म करिब २५ हजार सेट पाठ्यपुस्तक एजेन्सीमार्फत विद्यार्थीको हातमा पु-याइसकेको जनक शिक्षाले जनाएको छ ।

“थप १० हजार सेट छिट्टै विद्यार्थीसम्म पु-याउने लक्ष्य छ”, जनक शिक्षाका प्रमुख शर्माले भन्नुभयो, “यहाँ पाठ्यपुस्तक आउनासाथ एजेन्सीमार्फत पठाउने काम भइरहेको छ” । साबिक राप्ती अञ्चलको प्युठानबाहेकका जिल्लामा नेपालगञ्जबाट आवश्यक पाठ्यपुस्तक पठाइएको छ । 

प्युठान भने जनक शिक्षाको बुटवलस्थित कार्यालयको जिम्मेवारीमा पर्दछ । बाँके र बर्दियामा धमाधम पाठ्यपुस्तक पु-याउने कार्य भइरहेको छ । कक्षा ५, ६ र ८ का छुटेका विषयका पुस्तक असार १५ भित्र आइपुग्ने केन्द्र प्रमुख शर्माले जानकारी दिनुभयो । 

यस वर्ष स्थानीय तहको निर्वाचनका लागि करिब दुई करोड मतपत्र छाप्नु परेकाले पाठ्यपुस्तक छपाइ कार्य प्रभावित भएको हो । यसबाहेक कागजको जिम्मेवारी पाएको फर्मले रुस–युक्रेन युद्धलाई कारण देखाउँदै समयमै पर्याप्त कागज उपलब्ध गराउन नसकेका कारण पनि समयमै पुस्तक छाप्न नसकिएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । 

पुस्तक नपाउँदा पढाइमा समस्या

लीलाधर वली 

घोराही, जेठ १७ गते । नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्नासँगै विद्यालयमा पढाइ सुरु भइसकेको छ तर अध्ययन गर्न विद्यार्थीले पाठ्यपुस्तक नपाउँदा पढाइमा समस्या देखिएको छ । विद्यालयले अध्यापन सुरु गरे पनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन, जसले गर्दा पढाइमा समस्या भएको छ । 

अध्ययनका लागि पाठ्यपुस्तक नहुँदा पढाइका लागि विद्यार्थीमा उत्साहसमेत नभएको शिक्षक ताराबहादुर वलीले बताउनुभएको छ ।अभिभावक तथा विद्यार्थीहरू दैनिक पाठ्यपुस्तकका लागि पुस्तक पसल धाउने गरेका छन् तर रित्तो हात फर्किनुपर्ने बाध्यता छ ।

सरकारले यस वर्ष ४, ७ र ९ कक्षाको पाठ्यक्रम परिवर्तन गरेको छ । अहिले विद्यार्थीहरू खाली हात विद्यालय जाने गरेका छन् । कोही पुराना पुस्तक लिएर विद्यालय आउने गरेको उहाँ बताउनुहुन्छ ।  पाठ्यपुस्तक नहुँदा शिक्षकलाई समेत अध्यापन गराउन समस्या हुने गरेको छ । पाठ्यक्रम परिवर्तन नभएका कक्षामा पुरानो पुस्तकबाट कक्षा सञ्चालन भइरहेको घोराहीस्थित जयश्वर मावि रावतगाउँका प्रधानाध्यापक हुकुम बुढाथोकीले बताउनुभयो । 

पाठ्यक्रम परिवर्तन नभएकामा धेरै समस्या छैन । पढाइ भइरहेको छ, प्रधानाध्यापक बुढाथोकीले भन्नुभयो, “पाठ्यक्रम परिवर्तन भएका कक्षामा समस्या छ । विद्यार्थीले पुस्तक नहुँदा पढ्नै मन गर्दैनन् ।”  अहिले १ देखि ३ कक्षासम्मका पुस्तक आए पनि अन्य कक्षाको भने आउन नसकेको उहाँले बताउनुभयो । पुस्तक ल्याउने जिम्मा पाएकासँग सोध्दा एक हप्तामा आउँछ भनेर भन्नुभएको छ, बुढोथाकीले भन्नुभयो, “त्यही खबर विद्यार्थी र अभिभावकलाई सुनाएका छौँ ।” 

विद्यार्थीले दैनिक पाठ्यपुस्तक कहिले पाइन्छ भनेर शिक्षकलाई सोध्ने गरेका छन् । दैनिकजसो पुस्तक आउँदैछ भनेर जवाफ दिनुपर्ने बाध्यता शिक्षकको छ ।