• ५ मंसिर २०८२, शुक्रबार

कञ्चनपुरमा धानखरिद नहुँदा कृषक चिन्तित

blog

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगर । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, मङ्सिर ५ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले धान खरिद बन्द गरेपछि कृषकहरु चिन्तित बनेका छन् । कोटा सकिएको भन्दै खाद्यले मङ्सिर ३ गतेदेखि धान खरिद बन्द गरिएको जनाएको हो । यस वर्ष खाद्यले पाँच हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । कोटा अनुसार, धान खरिद भएपछि अहिले धान खरिदको काम रोकिएको कार्यालयका प्रमुख महिकरण महराले बताउनुभयो ।

गत कात्तिक १६ गतेदेखि जिल्लामा धान खरिद गर्न सुरु गरेको खाद्यले मङ्सिर २ गतेसम्म कोटा अनुसार, सबै धान खरिद गरिएको जनाएको छ । कार्यालय प्रमुख महराले १९५ कृषकहरूबाट ५ हजार क्वीन्टल मोटा धान खरिद गरिएको बताउनुभयो । उहाँका अनुसार, दुई दिन यता धान खरिदको कार्य रोकिएको छ । धान खरिद कार्य रोकिए पनि बिहीबारसम्म दुई सय तीन जना कृषकले धान खरिद गरिनुपर्ने भन्दै नाम दर्ता गराएको बताउनुभयो ।

खाद्यले धान खरिद गर्न बन्द गरेपछि जिल्ला स्थित कृषकहरू भने धान बेच्न नपाएको भन्दै चिन्तित बनेका छन् । सरकारले प्रतिक्विन्टल ३ हजार ४६३ दशमलव ८१ रुपियाँ धानको बिक्री मूल्य तोकेको छ । तर जिल्लामा धानखरिद गर्दे आएका मिल सञ्चालक, व्यवसायीहरुले भने निकै सस्तो मूल्यमा धान खरिद गरिरहेको भन्दै कृषकहरुले लगानी समेत नउठ्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

भीमदत्त नगरपालिका –२ का कृषक जय सिंह साउँदले धान बिक्री गर्नका लागि खाद्यमा पटक–पटक धाए पनि अहिले कोटा सकिएको भन्दै धान खरिद गर्न नमानेको गुनासो गर्नुभयो । साउँदले महुलियमा १० कट्टा जमिनमा धानखेति गर्दे आउनुभएको छ । उहाँ जस्तै २ सय बढी कृषकहरू कार्यालयमा पुगेर धान खरिद गरिनुपर्ने माग राख्दै आएका छन् ।  

कृषकहरूले भने, बाहिर व्यवसायीहरूले प्रति क्वीन्टल ८ सय रुपियाँ कम मूल्यमा धान खरिद गर्दे आएको भन्दै खाद्यले नै सबै धान खरिद गर्नुपर्ने माग गरेका छन् । बेलडाँडीका कृषक जयानन्द भट्टले दुई बिघामा लगाएको धान बाहिर बेच्नुपर्दा २५ हजारभन्दा बढी घाटा सहनुपर्ने अवस्था रहेकाले खाद्यले नै धान खरिद गर्नुपर्ने माग गर्नुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले गत वर्ष भने १५ हजार क्विन्टल धान खरिद गर्ने अनुमति पाएको थियो । तर गत वर्ष तीन हजार तीन सय क्वीन्टल मात्रै धान खरिद गरिएको कार्यालय प्रमुख महरा बताउँछन् । गत वर्ष कोटा अनुसार, धान खरिद नहुँदा यस वर्ष कोटा घटाइएको उहाँले बताउनुभयो । तर यस वर्ष अत्यधिक कृषकहरू धान बिक्री गर्नका लागि कार्यालयमा आउँदा कोटाभन्दा बढी धान खरिद गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो ।

एकातिर गत वर्ष व्यवसायीहरूबाट महँगोमा धान खरिद गर्दा पुरानो चामल समेत बिक्री नभएको कार्यालय प्रमुख महरा बताउँछन् । “गत वर्ष कोटा अनुसार, धान खरिद नहुँदा बाहिरबाट महँगोमा धान खरिद गरेका थियौँ,’’ उहाँले भन्नुभयो, ‘‘जस कारण अझै पाँच क्वीन्टल चामल बिक्री गर्न बाँकी नै छ ।”

सरकारले धान खरिदका लागि कोटा बढाए मात्रै अन्य कृषकहरूबाट धान खरिद अगाडि बढाइने उहाँले बताउनुभयो । जसका लागि प्रदेश र सङ्घ सरकारलाई बजेटको सुनिश्चितता गरिदिन माग गरिएको उहाँले बताउनुभयो । जिल्लामा यस वर्ष पनि धान खरिद गर्दे आएका व्यवसायीहरूले भने निकै सस्तो मूल्यमा धान खरिद गरिरहेको भन्दै यहाँका कृषकहरूले खाद्यमा नै तोकेको दरमा धान बिक्री गर्न पाउनुपर्ने बताएका छन् ।

एकातिर यहाँको स्थानीय सरकारले समेत धान खरिदमा सहजता नगर्दा समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका प्रमुख महरा बताउँछन् । स्थानीय तहले बजेटको सुनिश्चितता गरिदिए सबै कृषकहरूका धान खरिद गर्न सकिने उहाँ बताउनुहुन्छ । यहाँका पालिकाहरूलाई पत्र नै काटेर धान खरिदमा सहजता गरिदिन आग्रह गरे पनि वास्ता नगर्दा कृषकहरू मारमा परेको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय अधिकारी खेमराज काफ्लेले कृषकहरूको धान खरिदको विषयमा पालिका प्रमुखहरू सँग छलफल भइरहेको बताउनुभयो । कृषकहरूले उत्पादन गरेको धान उचित मूल्यमा बेच्न पाउनुपर्ने बताउनुहुँदै उहाँले यसका लागि सबै पालिकाहरू सँग समन्वय भइरहेको बताउनुभएको छ ।