• ११ पुस २०८१, बिहिबार

अभियान सुस्ताएसँगै ब्युँतियो छाउप्रथा

blog

छाउप्रथा रोक्न देउडा गीतमार्फत सन्देश दिँदै खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका महिला । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, जेठ १८ गते । बाजुराका अधिकांश स्थानीय तहमा छाउप्रथा रोक्ने अभियान सुस्त बन्दै गएपछि अहिले महिनावारी भएका सयममा महिलाले पुनः छाउगोठमा सुत्न सुरु गरेका छन् ।महिनावारीको समय घरमा सुत्दा धाँमीझाँक्री रिसाए भन्दै उनीहरूले फेरि धमाधम छाउगोठमा सुत्न सुरु गरेका हुन् । पछिल्लो समयमा यो अभियान सुस्त हुनु र गाउँमा धामीझाँक्रीले पनि महिनावारी भएका महिलालाई दिनानुदिन दबाब दिनुले धमाधम छाउगोठ निर्माण हुन थालेका हुन् । 

बाजुरामा २०७५ देखि २०७६ मा प्रहरी प्रशासनको समन्वयमा स्थानीय तहले सुरु गरेको छाउगोठ भत्काउने अभियानले यहाँका अधिकांश महिला महिनावारी भएको समयमा आफ्नै घरमा सुत्ने गरेका थिए । अहिले सो अभियान सुस्ताएपछि यहाँका अधिकांश महिला फेरि छाउगोठमै सुत्न थालेका छन् । 

बडीमालिका नगरपालिका–२ की महिला स्वास्थ्य स्यवंसेविका दुर्गा महतले भन्नुभयो, “केही वर्षपहिला यहाँका अधिकांश महिला महिनावारी भएको समयमा आफ्नै घरको कोठामा सुत्न थालेका थिए । २०७६ साउन २५ गते राति गाउँमा ठूलो बाढीपहिरो आयो, त्यो बाढीपहिरोले पाँचवटा घर बगायो, दुई जना बेपत्ता पा-यो, ठूलो मात्रामा मानवीय तथा भौतिक रूपमा समेत क्षति भयो ।

अनि यहाँका वयोवृद्ध तथा धामीझाँक्रीले यो सबै छाउपडीलाई घरमा सुत्न दिएपछि भएको हो भनेर उहाँहरू रिसाउन थाल्नुभयो, अनि त्यसपछि डरले यहाँका महिलाले फेरि छाउगोठमा सुत्न सुरु गरेका हुन् ।” उहाँले भन्नुभयो, “म स्वास्थ्य स्वयंसेविका हुँ । म पहिला महिनावारी भएको समयमा आफ्नै घरको कोठामा सुत्ने गरेकी थिएँ, उहाँहरूले मलाई पनि त्यही भन्न थाल्नुभयो, अनि डरले म पनि छाउगोठमै सुत्न बाध्य भएकी छु ।”

यो व्यथा केवल दुर्गा महतको मात्र होइन, बडीमालिका नगरपालिकाको जुगाडा, घागर, पिनालेखलगायतका क्षेत्रका महिलाको पनि यस्तै रहेको छ । बडीमालिका नगरपालिका‐१ की कल्पना कार्की पनि पहिला महिनावारी भएको समयमा घरकै कोठामा सुत्दै आउनुभएको थियो । गाउँका वयोवृद्ध तथा पढेलेखेका महिलाले नै गाली गरेर रिसाउन थालेपछि छाउगोठमा सुत्न बाध्य भएको उहाँ बताउनुहुन्छ ।

बाजुराका बूढीगङ्गा, छेडेदह, त्रिवेणी, खप्तड छेडेदहको काँडा जयवागेश्वरीका महिलालाई पनि उस्तै पीडा छ । यहाँका महिला पनि जब छाउगोठ भत्काउने अभियान सुरु भएको थियो, त्यति बेला उनीहरू महिनावारी भएका बेला घरघरमै सुत्न थालेका थिए । पछिल्लो समयमा अभियान सुस्त भएपछि यहाँका महिला फेरि छाउगोठमा सुत्न थालेको खप्तड छेडेदह गाउँपालिका‐१, काँडाका उर्मिला रोकायाले बताउनुभयो ।

पुस्तौँपुस्ताले मानेको चलन भएकाले यो प्रथा अन्त्य गर्न निकै सकस भएको बडीमालिका नगरपालिका‐२, घागरकी स्वास्थ्य स्वयंसेविका महतले बताउनुभयो । उसो त २०७६/७७ सालमा बडीमालिका नगरपालिकाभित्रका पाँचवटा वडालाई छाउगोठमुक्त वडा घोषणा गरिएको थियो । बीचमा कोरोना सङ्क्रमणका कारण यो अभियान सुस्त बन्यो । नगरका केही वडा छाउगोठ मुक्त घोषणा गर्न बाँकी नै रहे । बाँकी रहेका ठाउँका अधिकांश महिलालाई यो अभियानले केही प्रभाव नपारेपछि छाउप्रथा कायमै रहेको स्थानीयवासीको बुझाइ छ ।

गाउँमा धमाधम छाउगोठ निर्माण हुन थालेपछि केही महिनाअघि बडीमालिका नगरपालिकाले पुनः छाउगोठको तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरु गर्दै आएको स्वयंसेविका महतले बताउनुभयो । बडीमालिका नगरपालिका–१ को पिनालेख, २ को घाँगर, ७ को रजातोली, जिल्ली, ढम्कने, सिराडी वडा नम्बर ८ को मार्तडी लगायतका गाउँमा अहिले धमाधम छाउगोठ निर्माण भएका छन् ।

२०७६ पुस २४ गते बाजुराको बूढीनन्दा नगरपालिका–९ को पाण्डुसैनको अगाउँपानीमा रहेको छाउगोठमा सुतेका बेला निसास्सिएर आमा र दुई छोरासहित तीन जनाको ज्यान गएको थियो । यो घटना भएसँगै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पठाएसँगै बाजुराका छाउगोठ भत्काउने अभियान सुरु गरेको थियो । अभियान सुरु भएपछि बाजुराका अधिकांश महिला महिनावारी भएका बेला अहिले पनि आफ्नै घरमा सुत्ने गरेका छन् । 

जिल्ला प्रशासान कार्यालय बाजुराको निर्देशनमा प्रहरी, स्थानीय र जनप्रतिनिधिलाई छाउगोठ तथ्याङ्क सङ्कलन गर्न आग्रह गरेपछि २०७५/७६ सालमा १६८ र २०७६/७७ सालमा ३४३ गरी बाजुराका नौवटै स्थानीय तहमा ५११ वटा छाउगोठ भेटिएको र ती सबै भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।