• ६ वैशाख २०८३, आइतबार

नल, पराल जलाउँदा बिग्रँदै माटो

blog

टीकापुर नगरपालिका–९, झुङ्गामा बाली उठाएर छोडेको गहुँको नल । तस्बिर : एकिन्द्र तिमिल्सेना

टीकापुर समाचारदाता

टीकापुर, वैशाख ६ गते । कैलालीका किसान गहुँको नल, धानको पराल र बाली चुट्दाको भुस बारीमै जलाउन थालेका छन् । सिजन अनुसार किसानले बारीमा बाली उठाइसकेपछि पराल, नल, र भुस बाल्ने गरेका छन् । 

केही वर्षअघिसम्म पशुपालन गरेका किसानले आहाराका लागि भुस र नल घरमा भित्र्याउने र गोबर मलका रूपमा फेरि खेतमा पुग्ने गर्दथ्यो । केही वर्षयता खेत जोत्न मेसिन प्रयोग हुन थालेपछि गाईगोरु घटेका छन्, भुस, पराल, नल खाने गाईवस्तु नहुँदा किसानले यसलाई खेतमै जलाउन थालेका छन् । बाली उठाइसकेपछि खेतमा आगो लगाउँदा खेत सफा भई अर्को बाली लगाउन सजिलो हुने किसानको भनाइ छ । जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरी खेतबारीका लागि आवश्यक पर्ने मित्रजीव नोक्सान हुने, नाइट्रोजन जलेर खेर जाने र आगलागीका घटनासमेत निम्त्याउने सम्भावना भए पनि यो नरोकिएको बताउनुहुन्छ । जानकी गाउँपालिकाले अहिले गहुँको नल, भुस नजलाउन र पालिकाले गौशालामा राखेका गाईवस्तुलाई आहाराका रूपमा उपलब्ध गराइदिन गाउँवासीलाई अनुरोध गरेको छ । आगो लगाउँदा माटोको उर्वराशक्ति घट्ने कुरा किसानले थाहा नपाएको जोशीपुर गाउँपालिकाका कृषि अधिकृत सञ्जय चौधरी बताउनुहुन्छ । चौधरी भन्नुहुन्छ, “खेतमै खाल्डो गरेर नलबाट जैविक मल अथवा बायोचार बनाउन सकिने सम्भावना भए पनि यसको सुरुवात भएको छैन ।”

मुनुवाका अगुवा किसान विजय कठरिया गहुँको नल खेतमै छोड्दा खेत जोत्न ट्याक्टर प्रयोग गर्न अप्ठ्यारो हुने र त्यसमाथि रोपेको धान पनि फस्टाउन गाह्रो हुँदा जलाउने गरेको बताउनुहुन्छ । कठरियाका अनुसार एक बिघामा लगाएको गहुँको नललाई धुलो बनाउँदा चार हजार रुपियाँ लाग्ने भएकाले किसान यतातिर आकर्षित छैनन् ।

बारीमा आगो लगाउँदा खेतबारी सफा भए पनि यसले माटोको उर्वराशक्ति ह्रास गर्नुका साथै जैविक तथा वातावरणीय असन्तुलन हुने विज्ञको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डिन प्राध्यापक डाक्टर विष्णुविलास अधिकारी खेतमा आगो लगाउँदा माटोको अवस्था बिग्रिरहेको बताउनुहुन्छ । “खेतमा आगो लगाउँदा माटोले पाउने प्राङ्गारिक पदार्थ घटिरहेको छ, मित्रजीव मरिरहेका छन्, धुवाँले कुहिरीमण्डल बनाउँदा वातावरण प्रदूषण भएको छ,” प्राडा अधिकारी भन्नुहुन्छ, “यसलाई बारीमा जोतिदिए राम्रो हुन्छ, पश्चिम नेपालका तराईका जिल्लामा यो समस्या छ, यसलाई रोक्नु पर्छ ।”