काठमाडौँ, फागुन १९ गते । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा मच्छिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ ।
यसअघि दुई पटक च्याम्पियन बनिसकेको मच्छिन्द्रले दशरथ रङ्गशालामा सोमबार साँझ भएको तेस्रो संस्करणको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै लगातार तेस्रो पटक उपाधि चुमेको हो ।
मच्छिन्द्रलाई जिताउन स्टेफन जमाह जालीले गोल गर्नुभयो । मच्छिन्द्रले अर्को गोल आर्मीबाट आत्मघाती उपहार पाएको थियो । आर्मीले केही गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेन । दशरथ रङ्गशालाको प्यारापिटमा भरिपूर्ण दर्शकबिच भएको खेलमा मच्छिन्द्रले आफुलाई अब्बल सावित गर्यो ।
उपाधिसँगै मच्छिन्द्रले १५ लाख ११ हजार एक सय ११ रुपियाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता आर्मीले पाँच लाख रुपियाँ पाएको छ । प्रतियोगिताको उद्घाटनसँगै खेलाडीलाई उत्साह दिन प्रधानमन्त्री केपी शर्मा ओली र इटालीका विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन दशरथ रङ्गशाला पुग्नुभएको थियो ।
इटालीलाई सन् २००६ को विश्वकप जिताउन सफल बुफोनलाई प्रतियोगिता आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले पाहुनाको रूपमा नेपाल निम्त्याएको हो । फागुन ११ गतेदेखि सुरु भएको केपी ओली कपमा नौ टिमले प्रतिस्पर्धा गरेका थिए ।