• १९ फागुन २०८१, सोमबार

हङकङ फ्लु : ‘लहरे खोकीले निम्त्याउँछ निमोनिया’

blog

 काठमाडौँ, फागुन १८ गते । लामो समयसम्म खोकी लाग्दा निमोनिया हुने सम्भावना बढ्ने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ । पछिल्लो समय लामो सयमसम्म खोकी लाग्ने समस्या बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा लामो समयसम्म रुघाखोकी लागेका बिरामी आउने सङ्ख्या बढ्दै गएको छ । 

अस्पतालमा सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले अस्पतालमा एकिन तथ्याङ्क नभए पनि लामो समयसम्म खोकी लागेर अस्पताल आउने सङ्ख्या बढ्दो रहेको बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ,“पछिल्लो सयम लामो समयसम्म खोकी लागेर अस्पताल आउने सङ्ख्या बढ्दो छ । यस्तो समस्या भएका धेरै बिरामीको सङ्ख्या घरघरमा छ।” 

खोकी लामो समयसम्म लाग्दा निमोनिया हुने जोखिम बढ्ने हुँदा सचेत रहन डा.पुनले आग्रह गर्नुभयो । पछिल्लो समय अस्पतालमा आउने अधिकांश बिरामी लामो समयसम्म खोकी लागेर, खान मन नलाग्ने, ज्वरो आउने जस्ता लक्षण लिएर अस्पतालमा आउने गरेको डा.पुनको भनाइ छ ।  परीक्षण नभए पनि हङकङ फ्लु र प्रदूषणको कारणले रुघाखोकीको समस्या बढ्दै गएको डा.पुनकाे भनाइ छ ।

 के हो हङकङ फ्लु 

डा.पुनका अनुसार मौसमी फ्लुले (इन्फ्लुएन्जा) वर्षमा दुई पटक बढी दुःख दिने गर्छ । मौसमी फ्लु भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन् । यसमा ‘ए’ र ‘बी’ नेपालमा बेलाबेलामा स्वास्थ्य समस्या निम्त्याउने गर्छ । फ्लु ‘ए’ भाइरस विभिन्न समयमा महामारीको रूपमा देखिँदै आएको छ । 

  ए अन्तर्गत एचथ्री एन टु अर्थात् हङकङ फ्लु पर्छ । यो फ्लु सामान्य रुघाखोकीभन्दा घातक हुने गर्छ । यसले गर्दा श्वासप्रश्वासका साथै निमोनियाको समस्या निम्त्याउने गर्छ । 

डा.पुनका अनुसार यो सङ्क्रमणले गर्दा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने मांसपेशी, जोर्नी दुख्ने, नाकबाट सिगान बग्ने,थकाइ लाग्ने जस्ता लक्षण देखिन्छन् । बालबालिकामा बान्ता हुने पखाला लाग्ने जस्ता लक्षण देखिने डा.पुन बताउनुहुन्छ। 

 सामान्यतया मौसमी फ्लुका लक्षण एक हप्तादेखि १० दिनमा आफैं निको हुँदै जान्छ । खोकीले भने दुई हप्ता वा त्योभन्दा बढी समय दुःख दिने उहाँ बताउनुहुन्छ । 

मौसमी फ्लुले दीर्घ श्वासप्रश्वासका बिरामीलाई जटिल स्वास्थ्य समस्या निम्त्या अस्पतालमा भर्नादर बढाउने डा.पुन बताउनुहुन्छ । 

त्यो बाहेक दमका दीर्घ रोगी, दीर्घरोगी,  गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका,बालबालिकाला यो रोगले बढी सताउँछ ।   

 सङ्क्रमितले खोक्दा हाच्छिउँ गर्दा  र्‍याल, सिगान, थुकको माध्यमबाट सर्ने गर्छ । र्‍याल, सिगान, थुक हातले छोएर नाक, मुख वा आँखामा छोएमा सङ्क्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने डा.पुन बताउनुहुन्छ । 

मौसमी फ्लुबाट सङ्क्रमित भएमा एक हप्ता भिडभाडमा नजान उहाँको सुझाव छ ।  खोक्दा हातको बाहुलाले छोप्ने र भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने जस्ता जनस्वास्थ्यका मापदण्ड अपनाउन डा.पुनको सुझाव छ।

मौसमी फ्लुबाट सङ्क्रमित हुनासाथ जथाभावी औषधी किनेर नखान उहाँको सुझाव छ । उहाँ भन्नुहुनछ,“धेरैले आफूखुसी औषधी खाने गर्छन् एन्टिबायोटिक खाँदा थप जटिल स्वास्थ्य समस्या निम्तिने गर्छ ।” 

 आफूखुसी औषधी किनेर खानुभन्दा स्वास्थ्यकर्मीको परामर्शमा औषधी खान उहाँको सुझाव छ । दीर्घरोगीले भने सामान्य रुघाखोकी लाग्नासाथ चिकित्सककाे परामर्श लिन उहाँको सुझाव छ । सामान्य मानिसलाई एक हप्ता १० दिन घरमा आराम गर्न उहाँको सुझाव छ ।

 बच्ने उपाय 

डा.पुनका अनुसार मौसमी फ्लुबाट बच्न बिरामी भएका व्यक्तिसँग भौतिक दूरी राख्न,  खोक्दा हाच्छिउँ गर्दा मुख र नाक छोप्न, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल प्रदार्थ  र पौष्टिक खाना खान, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न ,आँखा, नाक वा मुख नछुन उहाँको आग्रह छ । 

जोखिम समूहलाई फ्लुविरुद्धको खोप लगाउन डा.पुनको सुझाव छ । फ्लुविरुद्धको खोपले सङ्क्रमण भए पनि यसबाट हुने जोखिम कम गर्ने डा.पुनको भनाइ छ । 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।