काठमाडौँ, फागुन १४ गते । नेपालमा बालबालिकामा हुने क्यान्सर रोग प्रमुख स्वास्थ्य समस्याको रूपमा रहेको छ । नेपालमा कति बालबालिकालाई क्यान्सर हुन्छ भन्ने एकिन तथ्याङ्क नभए पनि इन्टरनेसनल एजेन्सी फर रिसर्च इन क्यान्सर का अनुसार नेपालमा प्रत्येक वर्ष १५ सय बालबालिकामा क्यान्सर हुने अनुमान गरिएको छ ।
क्यान्सरको उपचार गर्ने संस्थाको तथ्याङ्क हेर्ने हो भने वार्षिक आठदेखि नौ सयको हाराहारीमा नयाँ बाल क्यान्सरका बिरामी थपिने देखिएको छ । अनुमान गरिएका मध्ये लगभग पाँच सयभन्दा बढी क्यान्सर भएका बालबालिका उपचारको दायरा बाहिर छन् । आर्थिक अभाव, लामो समयसम्म उपचार गर्नुपर्ने कारण र रोगको बारेमा चेतनाको कमीले गर्दा बालबालिका उपचारको दायरमा नआएको हुन सक्ने चिकित्सकको बुझाइ छ ।
आर्थिक अभावका कारणले बालबालिका क्यान्सर रोगले ज्यान गुमाउनु पर्ने अवस्था नेपालमा नरहेको चिकित्सक बताउँछन् । बालबालिकामा लाग्ने क्यान्सर सुरुवाती चरणमा पत्ता लगाएमा अधिकांश क्यान्सर निको बनाउन सकिने चिकित्सकको दाबी छ ।
पाटन अस्पतालकी बाल क्यान्सर रोग विशेषज्ञ डा. सुचरिता तुलाधर क्यान्सर लागेका बालबालिकालाई सयमा नै पत्ता लगाउन सकियो भने सामान्य जीवनमा फर्काउने गरी निको बनाउन सकिने बताउनुहुन्छ । आर्थिक अभावले कुनै पनि बालबालिकाले अकालमै मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले सरकारले बालबालिकाको क्यान्सर उपचारका लागि धेरै काम गरेको डा. तुलाधर बताउनुहुन्छ ।
बालबलिकामा हुने क्यान्सरको नेपालमा नै उच्चस्तरको उपचार हुने तुलाधरको दाबी छ । उपचारपछि धेरै बालबालिका समान्य जीवनमा फर्किएका थुप्रै उदाहरण रहेको डा. तुलाधरको भनाइ छ । क्यान्सर निको भएका बालबालिकाको वौद्धिकतामा कुनै असर नपर्ने डा. तुलाधर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बालबालिकामा देखिने क्यान्सरलाई नियन्त्रण गर्न सकिँदैन, तर समयमा नै रोग पहिचान भएमा अधिकांश क्यान्सरलाई निको बनाउन सकिन्छ ।”
बढी देखिने क्यान्सर
पाटन अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. तुलाधरका अनुसार बालबालिकामा सबैभन्दा बढी रगतसँग सम्बन्धित क्यान्सर देखिन्छ । बच्चामा देखिने आधाभन्दा बढी रगतसँग सम्बन्धित क्यान्सर हुने कान्ति बाल अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुधीर सापकोटा बताउनुहुन्छ ।
त्यसका अलावा ब्रेन ट्युमर, मिर्गौला, आँखाको क्यान्सर, हड्डीको क्यान्सर, मस्तिष्कको क्यान्सर देखिने उहाँको भनाइ छ । जन्मेदेखिका बालबालिकालाई क्यान्सर हुनेगर्छ । सबैभन्दा बढी जन्मेदेखि सात वर्ष उमेरका बालबालिकामा क्यान्सर देखिने चिकित्सक बताउँछन् ।
मानव शरीर करोडौँ सूक्ष्म कोषिकाले बनेको हुन्छ । यस्ता कोषिकामा कुनै कारणबस खराबी आई अनियन्त्रित रूपमा धेरै कोषहरू जम्मा हुन्छन् । त्यही कोषिकाहरू मासुको डल्लो (ट्युमर) बन्छ र पछि त्यही ट्युमर क्यान्सरको रूपमा देखा पर्ने क्यान्सर रोग विशेषज्ञ सापकोटा बताउनुहुन्छ ।
बालबालिकामा क्यान्सर हुने कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । अधिकांश क्यान्सर डिएनएमा ड्यामेज हुने चिकित्सक बताउँछन् । तर, डिएनए के कारणले ड्यामेज हुन्छ भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको चिकित्सकको भनाइ छ ।
डा. तुलाधर भन्नुहुन्छ, “बालबालिकामा हुने क्यान्सरको कारक तत्व अहिलेसम्म पत्ता लागेको छैन । कुनै क्यान्सर वंशाणुगतको कारणले हुनेगर्छ ।” बालबालिकाको क्यान्सरको कारक तत्व थाहा नभकाले जति छिटो क्यान्सर पत्ता लगाउन सकियो त्यति नै छिटो उपचार प्रभावकारी हुने डा. तुलाधर बताउनुहुन्छ ।
लक्षण
वरिष्ठ बाल क्यान्सररोग विशेषज्ञ डा. सुधीर सापकोटाका अनुसार लामो समयसम्म ज्वरो आउने, शरीरमा निलो डाम देखिने, हातखुट्टा, कमजोर हुने, ढाड दुख्ने, ग्रन्थी सुनिने, आँखाको नानी सेतो देखिने, तारन्तार बान्ता गर्ने, रगत कम हुँदै जाने, शरीर सेतो पहेलो देखिने, गिजा सुनिने, पेट फुल्ने, आँखामा सेतो दाग देखिने, टाउको दुख्ने, तौल कम हुँदै जाने, शरीरमा नदुख्ने गाँठागुँठी आउने, आलस हुने, शरीरका विभिन्न भागबाट रगत बग्ने, छाला, जिब्रो आँखामा टिकटिक दाग देखिने, बालबालिकामा देखिने क्यान्सरका प्रमुख लक्षण हुन् ।
लक्षणका आधारमा बालबालिकाको चिकित्सकको सिफारिसमा शरीरबाट मासु निकाली वायप्सी गरेपछि क्यान्सर भए-नभएको पत्ता लगाउन सकिने डा. सापकोटा बताउनुहुन्छ ।
बालबालिकमा हुने अधिकांश क्यान्सरलाई नेपालमा नै उपचार गर्न सकिने चिकित्सक बताउँछन् । डा. तुलाधरका अनुसार नेपालमा हाल उच्चस्तरीय उपचार छ । बालबालिकामा हुने क्यान्सरको अन्तर्राष्ट्रिय स्तरको उपचार गर्दैआएको उहाँको दाबी छ । नेपालमा अन्तिम चरणमा मात्र अस्पतालमा आउने हुँदा यसको उपचारमा चुनौती थपिने गर्छ । विकसित देशमा ८० देखि ९० प्रतिशत बालबालिकामा हुने क्यान्सर निको हुन्छ भने अल्पविकसित देशमा ३० प्रतिशत मात्र निको हुने गर्छ ।
उपचारमा के गर्दै छ सरकार
आर्थिक अभावमा कोही पनि क्यान्सर लागेका बालबालिकाको परीक्षण र उपचारबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले सरकारले चार वटा अस्पताल कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका बालबालिकालाई सम्पूर्ण सेवा सुविधाका साथै औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यसका अलावा सरकारले क्यान्सर भएका बिरामीलाई एक लाख रुपियाँ बराबरको रकम दिनुका साथै महिनामा चार हजारका दरले औषधी खर्च उपलब्ध गराउँदै आएको छ । सम्बन्धित वडाहरूले पनि क्यान्सर भएका बिरामीलाई केही रकम छुट्याएका छन् ।
सरकारले धेरै क्यान्सरको किमो थेरापी दिँदा प्रयोग हुने ३५ प्रकारका औषधी निःशुल्क प्रदान गर्ने भएको छ । सोहीअनुरूप पहिलो चरणको औषधी नेपाल भित्रिसकेको छ । त्यो बाहेक क्यान्सरको उपचारमा संलग्न अस्पतालले विभिन्न एनजिओ आइएनजिओसँग समन्वय गरेर क्यान्सर भएका बालबालिका र कुरूवालाई खाने बस्ने व्यवस्था गर्ने गरेका छन् ।
डा. तुलाधरले क्यान्सर लाग्यो भने उपचार हुँदैन भनेर घरमा नै बस्नु गलत भएको बताउनुहुन्छ । क्यान्सरका लक्षण देखिनासाथ बालबालिकालाई नजिकको क्यान्सर रोगको उपचार हुने स्वास्थ्य संस्थामा लैजान उहाँले आग्रह गर्नुभयो ।