• ११ फागुन २०८१, आइतबार

बलियो कूटनीतिक पहल

blog

भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युको घटना यतिखेर नेपाल र भारतभर चर्चामा छ । बिटेक तेस्रो वर्षमा अध्ययनरत लम्सालको आकस्मिक निधनको सत्यतथ्य छानबिनको माग गर्दै नेपाली विद्यार्थी शान्तिपूर्ण प्रदर्शनमा उत्रे । प्रदर्शनमा उत्रेका विद्यार्थीलाई चित्त बुझाएर आन्दोलन मत्थर बनाउने कोसिस गर्नुपर्नेमा विश्वविद्यालय प्रशासनले कुटपिट गर्दै होस्टेलबाट निकाल्न थालेपछि घटनाले थप उग्र रूप लियो । विश्वविद्यालयको ज्यादती सहन नसकेपछि घर फर्कन रेलवे स्टेसन तथा अन्य सार्वजनिक स्थानमा जम्मा भएका विद्यार्थीको भिडले अन्ततः नेपाल र भारतको कूटनीतिक वृत्तको समेत ध्यानाकर्षण गराउन बाध्य पार्‍यो । 

नेपाल सरकारको बलियो कूटनीतिक पहलकै कारण अहिले घटना करिब साम्य भएको छ । यद्यपि आत्महत्या भनिएका लम्सालको निधनको विषयमा सुरु भएको छानबिनको निष्कर्ष भने आइसकेको छैन । नेपाल र भारतबिच विद्यालय तहदेखि उच्च तहसम्मको शिक्षाको सन्दर्भमा विद्यार्थी आदानप्रदान हुन थालेको बर्सौं भइसकेको छ । पछिल्ला केही वर्षदेखि नेपाली विद्यार्थी त्यतातर्फ जाने क्रम ह्वात्तै बढेको थियो, यो क्रम अझै जारी छ । लम्सालको मृत्युको घटनाले भने उच्च शिक्षाका लागि भारतका विभिन्न शैक्षिक संस्थामा सन्तान पठाउने तयारी गरिरहेका अभिभावकलाई एक पटक सोच्न बाध्य बनाएको छ । 

एक भारतीय युवकको पटक पटकको धम्कीपूर्ण व्यवहार सहन नसकेर लम्सालले मृत्युको बाटो रोजेको भन्ने अपुष्ट विवरण सार्वजनिक भएका छन् । उक्त घटनाबारे विश्वविद्यालय प्रशासनमा पटक पटक लिखित तथा मौखिक उजुरी गराउँदा पनि सुनुवाइ नभएको गुनासो अन्य विद्यार्थीबाट सुनिएको छ । यो सत्य हो भने विद्यार्थीका गुनासो सुनुवाइ गर्ने मामिलामा विश्वविद्यालय प्रशासन चुकेकै हो भन्न थप प्रमाण आवश्यक पर्दैन । प्रशासनमा दर्ता गरिएको उजुरीलाई गम्भीरताका साथ लिइएको भए एउटा छात्राले अकालमै मृत्युवरण गर्नु पर्दैनथ्यो ।

शान्तिपूर्ण विरोध गरेकै आधारमा विद्यार्थीलाई होस्टेलबाटै कुटपिट गर्दै निकाल्नु र यसका लागि सार्वजनिक सूचना नै जारी गर्नु विश्वविद्यालयको अर्को अमानवीय व्यवहार हो । सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी शुल्क तिरेर अध्ययन गर्न गएका विद्यार्थीलाई न्यूनतम मानवीय संवेदनासमेत नराखी यस्तो व्यवहार गर्नु निन्दनीय कार्य हो । यद्यपि विश्वविद्यालयले यस विषयमा क्षमायाचना गरेर विद्यार्थीलाई होस्टेल फर्काउन अपिल गरिसकेको छ भने विद्यार्थीका मागमा आफूहरू संवेदनशील रहेको र आइन्दा यस्तो व्यवहार नगर्ने प्रतिबद्धता जनाइसकेको छ । उक्त प्रतिबद्धता कार्यान्वयन कसरी हुन्छ भन्ने विषय चाहिँ महत्वपूर्ण छ । यो घटना तत्कालका लागि मत्थर भए पनि किट विश्वविद्यालयको घटनाबाट नेपाली विद्यार्थी पढाइरहेका भारतका अन्य विश्वविद्यालय र अन्य शैक्षिक संस्थालाई पनि गम्भीर भएर सोच्न बाध्य बनाएको छ । 

नेपाली विद्यार्थी भारतीय शैक्षिक संस्थामा अध्ययन गर्न आफ्नै पहलमा र नेपालमै खुलेका परामर्शदातृ संस्थाको समन्वयमा जाने गरेका छन् । यस्ता संस्थाले पनि परामर्श कर्मलाई विद्यार्थीले विश्वविद्यालयमा तिर्नुपर्ने शुल्क र आफूलाई आउने कमिसनमा मात्रै सीमित राख्ने गरेका छन् । अब उनीहरूले परामर्शको दायरा फराकिलो पार्नु पर्छ । विद्यार्थी जीवनमा आउने सानातिना समस्यासँग सकभर आफैँ जुध्ने र नसक्ने अवस्था आएमा अभिभावकसम्म खबर गर्नु पर्छ भन्ने सकारात्मक भावना विकास गराएर विद्यार्थीलाई पढ्न पठाउनु पर्छ । भारतमा पढ्न जाने विद्यार्थीका लागि मात्रै होइन, वैदेशिक अध्ययनमा जाने अन्य विद्यार्थीका लागि पनि यस्तै परामर्श दिनु पर्छ । साथै लम्सालको मृत्युको घटनालाई लिएर समग्र भारतीय शैक्षिक संस्थालाई नै बदनाम पनि गर्न हुन्न । एउटा छात्राको निधनको विषयलाई लिएर दुई मुलुकबिचको सदियौँदेखिको कूटनीतिक सम्बन्धमै खलल पुग्ने गरी टीकाटिप्पणी गर्नु पनि उपयुक्त हुँदैन ।