• २० फागुन २०८१, मङ्गलबार

फाप्लु विमानस्थलमा ‘रिफ्युलिङ’ सेन्टर राख्न माग

blog

‘रिफ्युलिङ सेन्टर’ माग गरिएको फाप्लु विमानस्थल । तस्विरः सन्तोष राउत

सन्तोष राउत

सोलुखुम्बु, फागुन ६ गते । हिमाली पर्यटनको केन्द्रका रूपमा रहेको सगरमाथाको जिल्ला सोलुखुम्बुमा  पर्यटन प्रवर्द्धनका लागि फाप्लु विमानस्थलमा हवाई इन्धन ‘रिफ्युलिङ’  सेन्टर राख्न माग गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाले नेपाल आलय निगमको केन्द्रीय कार्यालयसँग फाप्लु विमानस्थलमा ‘रिफ्युलिंग’ सेन्टर राख्न गरेको हो । 

पर्यटन सिजनमा हजारौँ पर्यटक पुग्ने खुम्बु क्षेत्रको मौसम जुनसुकै बेला प्रतिकुल हुँदा हवाई उडानहरू रद्द हुने र पर्यटक तथा सहयोगीहरूको बिचल्ली हुने समस्याको समाधानका लागि हवाई इन्धन ‘रिफ्युलिङ’  सेन्टर राख्न माग गरेको सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।  

पर्यटकका लागि हाल रामेछापबाट लुक्ला उडान भइरहेको र मौसम प्रतिकूलताको समयमा पर्यटक तथा पर्यटन व्यवसायीहरूले खेप्नुपरेको हैरानीलाई न्यूनीकरण गर्नका लागि समेत इन्धन ‘रिफ्युलिङ’  सेन्टर जरुरी भएकोले नेपाल आलय निगम र विभिन्न एयरलाइन्ससँग समन्वय गरी पहल भइरहेको प्रमुख शेर्पाको भनाइ छ । 

मुलुककै सबैभन्दा बढी विमानस्थल रहेको सोलुखुम्बुको फाप्लुमा सिधै काठमाण्डौं–फाप्लु र फाप्लु–लुक्ला उडानका लागि सोलुदूधकुण्ड नगरपालिकास्थित फाप्लु विमानस्थलमा इन्धन ‘रिफ्युलिङ’  सेन्टर राखेर हवाई उडानको मुख्य केन्द्र बनाउनुपर्नेमा उहाँको जोड छ । फाप्लुमा नियमित उडान नहुँदा सोलुखुम्बु जिल्लाको तल्लो क्षेत्रको पर्यटन पनि प्रभावित भएको छ भने स्थानीय यात्रुहरूको हवाई यात्रा र आकस्मिक उद्धारमा पनि समस्या हुने गरेको छ ।

सोलुखुम्बुका विमानस्थलहरूमा नियमित उडान सुनिश्चित गर्दै पर्यटकहरूको सङ्ख्यामा वृद्धि गरी पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउन फाप्लु विमानस्थलमा हवाई इन्धन ‘रिफ्युलिङ सेन्टर’को आवश्यक छ ।

फाप्लुमा हवाई इन्धन ‘रिफ्युलिङ सेन्टर’ आवश्यक रहेको र यसले सोलुखुम्बुको समग्र पर्यटनलाई फाइदा पुग्ने पर्यटन व्यवसायीहरूले बताएका छन् ।