• ८ फागुन २०८१, बिहिबार

वैकल्पिक राजनीतिको कमजोर जग

blog

सन् २०११ देखि २०१३ सम्म भ्रष्टाचारविरुद्धको आन्दोलनबाट उदाएका अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले सन् २०१५ मा दिल्ली विधान सभा चुनावमा ७० मध्ये ६७ सिट जितेको थियो । जुन परिणामले दिल्लीको राजनीतिक वृत्तमा हलचल मच्चाएको थियो । पाँच वर्षपछि सन् २०२० को विधान सभा चुनावमा आपले सरकार गठन गर्न बहुमत त पायो तर ६२ सिटमा चित्त बुझाउनु प¥यो । दिल्लीको राजनीतिमा क्रमशः कमजोर बन्दै गएको आपले हालै सम्पन्न विधान सभा चुनावमा अघिल्लो चुनावको तुलनामा ४० सिट गुमाएर सत्ताबाट बाहिरिनु परेको छ । यसो हुँदा भाजपाले २७ वर्षपछि पहिलो पटक दिल्ली विधान सभामा पूर्ण बहुमत हात पार्न सफल भएको छ । 

हुन त जुनसुकै देशका मतदाताले पनि परिस्थिति अनुसार चुनाव चिह्न र उम्मेदवार फेर्ने गरेका हुन्छन् । त्यसै कारण चुनावी परिणाममा फेरबदल आइरहेको हुन्छ । यसका पछाडिको मुख्य कारण भनेको मतदाताले परिवर्तन चाहेका हुन्छन् । केजरीवालले स्कुल, निःशुल्क बस सेवा वा बिजुलीको बिल छुटका आकर्षक नारा अगाडि सार्नुभएको थियो । तल्लो तहका मतदाताले यी परिवर्तन महसुस गरे र केजरीवाललाई समर्थन पनि गरे । तर निम्न मध्यम वर्गको बुझाइमा यति गरेर मात्र दिल्लीमा सुधार आउने अवस्था थिएन र छैन । जुन वर्गका लागि ट्राफिक जाम वा पानी जस्ता विषय प्रमुख समस्याका रूपमा रहेका थिए र छन् । नेपाल वा भारतको चुनावी मनोविज्ञान कस्तो देखिन्छ भने कसलाई जिताउने वा हराउने भन्ने विषयमा यहि निम्न मध्यमवर्ग निर्णायक भइदिन्छ । अहिले दिल्लीमा भएको पनि त्यही नै हो । 

तर दिल्ली विधान सभा चुनावमा आपको पराजयलाई मतदाताले परिवर्तन चाहेको भनी अर्थ लगाए पनि पार्टीका संयोजकसमेत रहेका भ्रष्टाचारविरुद्धको आन्दोलनको अगुवा केजरीवालले नै आफ्नो सिट जोगाउन नसक्नुलाई कतै उहाँ आफैँले अगाडि सार्नुभएको राजनीतिक अवधारणा त्यागेका कारण त होइन भन्ने प्रश्न उठेको छ । तीन पटक मुख्यमन्त्री रहनुभएकी शीला दीक्षितलाई पराजित गरेर चुनाव जित्नुभएका केजरीवाल आफैँ नयाँ दिल्लीबाट भारतीय जनता पार्टीका प्रवेश वर्मासँग चार हजारभन्दा बढी मतले पराजित हुनुभएको छ । उहाँ मात्र होइन, मनिष सिसोदिया, सौरभ भारद्वाज, सत्येन्द्र जैन जस्ता आपका वरिष्ठ नेताहरूले पनि हार बेहोर्नु प¥यो । 

अर्कातिर केजरीवालले आफ्नो क्षमतालाई बढी नै आकलन गरेको टिप्पणी पनि दिल्लीको राजनीतिक वृत्तमा भएको छ । कांग्रेससँग चुनावी गठबन्धन गर्ने सन्दर्भमा केजरीवालले कसैको आवश्यकता छैन, हामी यो चुनाव एक्लै लड्ने छौँ भनेर घमण्ड देखाउनुभएको थियो । जबकि गत वर्षको लोक सभा चुनावमा आप र कांग्रेस सल्लाह गरेर सँगै चुनाव लडे । जसको राजनीतिक लाभ दुवै दललाई भएको थियो तर विधान सभा चुनावअघि केजरीवालले कांग्रेससँग सल्लाह नगरी आफ्नै तर्फबाट ७० उम्मेदवार घोषणा गर्नुभयो । अर्थात् उहाँले गठबन्धनका लागि कुनै ठाउँ खाली छाड्नुभएन । अन्ततः चुनावी परिणामले के देखायो भने कांग्रेससँग गठबन्धन गरेको भए दिल्ली विधान सभा चुनावमा भाजपाको सरकार बन्ने अवस्था आउने थिएन । जहाँ आम आदमी पार्टी हारेको थियो, त्यहाँ कांग्रेसका उम्मेदवारले अलि बढी मत पाएका थिए । भारतीय सञ्चार माध्यमका अनुसार १० वटा यस्ता सिट छन्, जहाँ कांग्रेसका कारण आपका उम्मेदवारले हार बेहोर्नु परेको देखियो । 

भ्रष्टाचारविरोधी अभियानबाट राजनीतिमा आउनुभएका केजरीवालको सबैभन्दा ठुलो शक्ति भनेकै नैतिकता थियो । जेल जाँदासमेत नबिग्रिएको उहाँको छविमा  सिसमहल  (काँचको दरबार) अभियानले कहिल्यै नमेटिने दाग लगायो । भारतीय विश्लेषकले आपको पराजयका पछाडि विभिन्न कारण औँल्याएका छन् । त्यसमध्ये एउटा कारण हो,  सिसमहल  विवाद । दिल्लीस्थित मुख्यमन्त्रीको सरकारी निवासमा गरिएको सौन्दर्यकरणमा भएको करोडौँ खर्चको विवादलाई भाजपाले केजरीवालविरुद्धको गतिलो चुनावी मुद्दा बनाउन सफल भयो । अर्थात् भाजपाले उहाँको इमानदार नेताको छविमाथि आमरूपमा शङ्का पैदा गर्न सफल भयो । कतिसम्म भने प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना धेरै भाषणमा  सिसमहल को कुरा बारम्बार दोहो¥याइरहनुभयो । जसको असर चुनावमा देखियो । 

दिल्लीको चुनाव परिणामपछि गुजरात विश्वविद्यालयका सामाजिक विज्ञानका प्रा. गौराङ्ग जानीले भन्नुभएको छ, “दिल्लीमा आम आदमी पार्टीमाथि ब्रेक लगाउनुको पनि प्रतीकात्मक अर्थ छ । यो अयोध्यामा भाजपा हारे जस्तै हो । केजरीवालले जितेका भए उनले भाजपाले आफूलाई भ्रष्टाचारको मुद्दामा फसाएको भन्न हिम्मत गर्ने थिए तर अब उनी त्यो भन्न सक्ने अवस्थामा छैनन् ।” उहाँ थप्नुहुन्छ, “केजरीवालले अब सोच्नुपर्ने छ, भाजपासँग लड्ने कि कांग्रेससँग ? केजरीवालले देशभर कांग्रेसलाई कमजोर बनाएका छन् । गुजरातको पछिल्लो विधान सभा चुनाव हेर्ने हो भने यसले भाजपालाई मात्र फाइदा पु¥यायो । आम आदमी पार्टीको राजनीति वैचारिक रूपमा भ्रमित छ । यो हारपछि सायद उनीहरूले आफ्नो लाइन स्पष्ट पार्न सक्छन् ।”

केजरीवालको पराजयपछि दिल्लीमा आपको भविष्यबारे अनेक टिकाटिप्पणी भएका छन् । कतिपयले हिजो कांग्रेस सत्तामा रहँदा सबै नेता एकसाथ रहेकोमा पार्टी सत्ताबाट बाहिरिने बित्तिकै धेरै ठुला नेताहरू भाजपामा सामेल भए जस्तै अब आपलाई कमजोर पार्न प्रयास गर्ने आकलन गरेका छन् । त्यस अर्थमा केजरीवालका लागि सबै विकल्प नसकिएको भए पनि अगाडिको बाटो निकै कठिन देखिन्छ । त्यसो त भाजपाका लागि पनि त्यति सहज देखिँदैन । किनभने चुनावका बेला मतदातासामु उसले निःशुल्कका धेरै वाचा गरेको छ । यसबाहेक यमुना नदी सफाइको सन्दर्भमा पनि भाजपाले ठुलै चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ । यो त्यहि यमुना नदी हो जहाँ केजरीवालले विष हाल्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । त्यसको फाइदा उठाउँदै भाजपाले यमुना सफाइको मुद्दा अगाडि सारेको थियो । 

नेपाल सन्दर्भ

दिल्ली विधान सभा चुनावी परिणामलाई लिएर नेपाली मिडियामा पनि अनेक खाले टिकाटिप्पणी भएका छन् । जसले नेपालको राजनीतिक वृत्तमा राम्रै चर्चा पनि पाएको छ । खास गरी भारतको आप जस्तै नेपालमा भर्खरै खुलेका केही राजनीतिक दल र तिनका नेताका गतिविधि एवं चरित्रसँग जोडेर यस्ता विश्लेषण भएका हुन् । पुराना राजनीतिक दलहरू सबै खराब भए भनेर आफूलाई वैकल्पिक राजनीतिक दलको दाबी गर्ने स्वघोषित विद्वान्हरूले बेला बेलामा सार्वजनिक सभा समारोहमा अभिव्यक्ति दिने गरेका पनि छन् । त्यस्तै चटके कुरा पत्याएर मत दिएका मतदाता सायद यतिबेला पछुतो मानिरहेका होलान् । २०७९ को आमनिर्वाचन अगाडि दर्ता भएका वा अन्य लामो इतिहास नभएका दलका अधिकांश संसद्का अभिव्यक्ति सुन्दा र व्यवहार हेर्दा तिनले आममतदाताको कसरी प्रतिनिधित्व गर्न सक्छन् भन्ने प्रश्न उब्जिन्छ । राजनीतिलाई जनसेवा ठान्ने तिनै राजनीतिक दलका नेताहरूले गरिब जनताले आधा पेट खाएर भविष्यका लागि भनी सहकारीमा जम्मा गरेको करोडौँ रकम अपचलन गरेको अभियोगमा रास्वपाका अध्यक्ष रवि लामिछाने कहिले चितवन, कहिले पोखरा, कहिले काठमाडौँ र कहिले भैरहवा पुगेर बयान दिनु परेको छ । सहकारी ठगीको आरोपमा सांसद लामिछानेको पद निलम्बन भएको छ । पुराना दलका नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा देश विकास हुन नसकेको भनेर आफूहरूका पक्षमा मत मागेको रास्वपाका स्वयम् अध्यक्षमाथि सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप लाग्नुले उसको बोली र व्यवहारमा कति मेल खान्छ भन्ने प्रस्ट हुन्छ । यसअघि दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाका अर्का सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त हुनु परेको थियो । 

भ्रष्टाचारविरोधी अभियानबाट राजनीतिमा हाम फाल्नुभएका दिल्लीका केजरीवालको सबैभन्दा ठुलो शक्ति नैतिकता भएको सन्दर्भमा नेपालका वैकल्पिक भनिने दलका नेताहरूमा त नैतिकता पनि भेटिँदैन । नैतिक आडमा लगातार दुई कार्यकाल दिल्लीको चुनाव जितेर सरकार बनाएको आप त आज आएर सरकारबाट बाहिरिनु पर्ने अवस्था आयो भने नेपालमा सिद्धान्त र गन्तव्यहीन दलहरूका लागि मिसन २०८४ को नारा अनुकूल नहुन सक्छ । दिल्लीमा सिसमहल जसरी काठमाडौँमा सहकारी ठगी मुद्दाले ठाउँ नपाउला भन्न सकिँदैन । कमजोर जगमा उभिएका दलहरूलाई हल्लाउन ठुलो भूकम्प जानै पर्दैन ससाना पराकम्प नै काफी हुन्छन् । भौगोलिक हिसाबले टाढा भए पनि दिल्लीको हावा काठमाडौँको आइपुग्न समय लाग्दैन ।