महेन्द्रनगर (कञ्चनपुर), मङ्सिर ५ गते । यहाँको दोधारा-चाँदनी नगरपालिकामा निर्माण भइरहेको सुक्खा बन्दरगाहका लागि आवश्यक निर्माण सामाग्री र औजार आयातमा भन्सार छुटका लागि सिफारिस गरिएको छ ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भन्सार छुटका लागि स्वीकृति प्रदान गरी कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिनुभयो । सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यक पर्ने सामग्री र औजारको सूची बुझाइएकामा उद्योग मन्त्रालयले आयात गर्दा भन्सार छुटका लागि स्वीकृति दिइ सोहीअनुसार प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
“ठेकेदारलाई भारतबाट निर्माणका लागि औजार एवं सामग्री ल्याउन भन्सार छुटका लागि सूची बुझाएको थियो”, निर्देशक गजुरेलले भन्नुभयो, “सोही सूची स्वीकृत भएर लागू हुने चरणमा पुगेको छ ।” यहाँ भारत सरकारको आर्थिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । भारतले नै त्यहाँको निर्माण कम्पनीलाई ठेक्का दिएको छ । कम्पनीले काम सुरु गरिसकेको छ ।
कार्यकारी निर्देशक गजुरेलले निर्माण कम्पनीले कार्यस्थलमा माटो सम्याउने, मजदुरको बसोबासका लागि आवश्यक संरचना बनाउनेलगायत काम सुरु भएका र भारतबाट औजार तथा निर्माण सामग्री आयात भएपछि कामले गति लिने बताउनुभयो । यहाँ तीन अर्ब ८० करोडको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना छ ।
बन्दरगाह निर्माणका लागि दोधारा-चाँदनी नगरपालिका-१ स्थित गौरीशङ्कर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा पूर्वाधार निर्माण हुने छन् । उक्त क्षेत्रफलमा दुई वटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, अध्यागम, सुरक्षा भवनलगायत संचरना निर्माण हुने छन् ।
महाकाली नदीमा निर्माण भएको ‘चारलेन’को पक्की पुलको पश्चिम छेउमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । बन्दरगाह निर्माण सम्पन्न भएमा कञ्चनपुर सुदूरपश्चिमकै प्रमुख व्यापारिक नाकाका रूपमा विकास हुने भन्दै स्थानीयवासी हर्षित भएका छन् ।
भारतको राजधानी नयाँदिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रूद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुक्खा बन्दरगाह निर्माणले सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने अपेक्षा गरिएको छ । यहाँबाट रुद्रपुर औद्योगिक क्षेत्र ९० किलोमिटरको दूरीमा रहेको छ । वि.सं.२०६४ मा सरकारले यहाँ सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव अगाडि बढाएको थियो । रासस