जयकृष्ण यादव
इनरुवा, फागुन ३ गते । सुनसरीको इनरुवामा दाता सहयोगी र चन्दाबाट प्रथम अन्तर्राष्ट्रिय इनरुवा गोल्ड कप फुटबलको तयारी भएको छ ।
फागुन २४ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने प्रथम अन्तर्राष्ट्रिय इनरुवा गोल्ड कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको हो । जिल्ला समन्वय समिति सुनसरीको स्वामित्वको इनरुवा जेलफिल्ड खेल मैदानमा हुने प्रथम अन्तर्राष्ट्रिय इनरुवा गोल्ड कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको हो ।
खेल लक्षित यहाँ जिर्ण भएको इनरुवा खेल मैदानमा सम्याउनेदेखि दुवो उमार्ने र खेल मैदानमा ममर्त गर्ने काम भएको छ । इनरुवाका स्थानीय जो विभिन्न काम र रोजगारको शिलशिलामा विदेशमा रहनुभएकाबाट अढाई लाख रुपियाँ र स्थानीय तह तथा दाताको सहयोगमा प्रथम अन्तर्राष्ट्रिय इनरुवा गोल्ड कप फुटबलको तयारी भएको इनरुवा फुटबल क्लवका सुजित राणा मगरले जानकारी दिनुभयो ।
विदेशी साथीहरूले इनरुवा खेलमैदान निर्माण तथा खेलका लागि सहयोग गरेको मगरले बताउनुभयो । उहाँले प्रथम अन्तर्राष्ट्रिय इनरुवा गोल्ड कप फुटबलको लागि झन्डै २५ लाख रुपियाँ खर्च हुने जानकारी दिनुभयो ।
इनरुवामा विगतमा राष्ट्रिय खेलाडी उत्पादन भएको र खेल खेलेकोमा हाल अभाव खड्किएकोले स्थानीय खेलाडीलाई फुटबल, बुट र जर्सी सहितको अभाव हुन नदिन र खेलाडी उत्पादन गर्ने उदेश्यले यो खेल आयोजना गरेको हो ।
खेलाडीलाई संरक्षण गर्ने उदेश्यले पाँच वर्ष पछि यो खेलको आयोजना गर्न लागेको जनाएको छ । उपाधी जित्नेलाई ३ लाख र उपविजेतालाई १ लाख ५० हजार रुपियाँ प्रदान गर्नेछ ।
खेलमा दर्शकबाट ३० रुपियाँ प्रवेश शुल्क लिने भएको छ । वीरगन्ज, झापा , विराटनगर ,भारतको सिलगुडी, धनकुटा, सिराहा, उदयपुर गाईघाट र आयोजक इनरुवा सहितको ८ टिमको सहभागी रहेको छ ।
अफ्रिकी मुलका खेलाडी समेतको सहभागीतामा खेल हुने इनरुवा फुटबल क्लवका सुजित राणा मगरले जानकारी दिनुभयो । आयोजनाका अनुसार यो फुटबल खेलकुदको पहिलो संस्करण हो ।