• ३ फागुन २०८१, शनिबार

थप्न कान्छा, थप ! [कथा]

blog

“थप्न थोरै ।”

“भो, पर्दैन दाइ । पुग्छ अब त । यो जिनिस धेरै पिउनु हुन्न क्या !”

“थप्न न थप, अलिकति । साँच्चै, पुग्या हो त तिम्लाई ?” “भो, पुग्यो मलाई त । योभन्दा बढी जाँदैन अचेल ।”

“यति मुला खाएर पनि के हुन्छ ? झिँगे माछाको टाउको जति पनि छैन । ल, थाप कान्छा अलिकति । आज हामी दाजुभाइ मात्नु पर्छ बेस्सरी । कहिले भेट हुन्छ र फेरि फेरि हाम्रो ? आज नमाते कैले मात्ने ?” शनैः शनैः रित्तिएको मेरो गिलासतिर चिल–दृष्टि फ्याँक्दै उनले पुनः ग्यालिन सारे मतिर । मेरो गिलास भरिने र रित्तिने क्रमले तेस्रो अवतार लिइसकेको थियो । करिब करिब ‘ह्याट्रिक’ जस्तै । म भने जसरीतसरी पनि नियन्त्रणहीन हुने अवस्थालाई रोकथाम गर्न चाहन्थेँ । 

बिहानैदेखि पिउने–पिलाउने उपक्रम गतिशील छ । 

यतिखेर घाम पनि आकाशको मध्यविन्दु छिचोलेर दक्षिणवर्ती हुँदै छ । मधुरो छ घामको अनुहार । बिस्तारै तुवाँलो झाँगिँदै छ– टाढाका पहाड र क्षितिज सेरोफेरो । यो भूभागमा हिउँदले पाइला टेकेयता मौसम पनि बेवारिसे भावभङ्गीमा उदाउँछ । बिहान हुस्सुले ढाक्छ, दिउँसो तुवाँलोले आफ्ना जालोहरू फिजाउँछन्, माकुराले झैँ । र, रात बित्दै जाँदा शीतका थोपाहरू टप्किन्छन्, बिनासूचना । 

“यस्सो सितन पनि टिप्न, मुला । के हेरेर बसिराख्या भन्या !” लोकल भालेको साइज–साइजरूपी टुक्रातिर नजर ओछ्याउँदै उनले भने । सितनमा मासुको अंश मोटामोटी गायब थियो र हड्डी र छाला मात्र बाँकी देखिन्थे । (पुनश्चः अचेल हामी हड्डी र छाला मात्र खान अभिशप्त छौँ, तेस्रो विश्वका नागरिक झैँ । म उनीसँग राजनीतिको सघन झाडीभित्र रुमल्लिन चाहँदिनथेँ । आफ्नै घरव्यवहार चलायमान बनाउन नसकिरहेका बेला किन विश्वको चिन्ता गर्ने होइन त ?) 

“लिँदै छु दाइ ।” मध्यकालीन जस्तो देखिने सिलाबरे थालबाट एक टुक्रा सितन टपक्क टिपेँ र चपाउँदै भनेँ । हड्डीको मात्रा अधिक । अचेल हामी जस्ता निम्नवर्गीयहरूले खाने हड्डी नै त हो नि ! हड्डीको सुस्वादसँगै हेर्न थालेँ परपरका सुरम्य डाँडा–पर्वतहरूतिर । धुसुनेको यो पातलो बस्तीबाट, चारैतिर जङ्गलले घेरिएको यो ठाउँबाट नजर बिछ्याउँदा के नै पो देखिँदैनन् र ? यता ठुल्डाँडा, उता हात्तीखर्के, झोलुङ्गे, मरिनपारिका पहाडहरू, अलि मास्तिरतिर महाभारत शृङ्खला र नजिकैका ढाप्सार, बेसारे... । ती ठाउँका दृश्याङ्कन सँगाल्दा म कता कता रोमाञ्चित बन्न पुगेँ । 

“मलाई आज मात्न मन लाग्या छ, कान्छा ।” ग्यालिनले बल्ल ३० प्रतिशत मात्र भारवहन क्षमता नाघेको थियो । रगत चुहिएला चुहिएला झैँ लाग्ने आँखा एकसरो यताउता डुलाउँदै मितदाइले भने, “यो ठाम्मा आएर बस्या यत्रो बर्ख भो, मैले यसपालि हार खाएँ कान्छा !”

उनीभित्र वेदनाका अति सूक्ष्म कीटाणुहरू सल्बलाइरहेका देखिन्थे । र, ती कीटाणुहरूले उनका स्वस्थ चेतना र सौन्दर्यमाथि धावा बोलिरहेको प्रतीत हुन्थ्यो । सौभाग्यवश, म मितदाइको घरआँगनमा हराइरहेको छु । धेरै वर्षपछि उनको आँगन टेक्ने सौभाग्य जुरेको थियो । हामी थोरै हिसाबले ‘रम रम मरौटी’ भइसकेका थियौँ । अहा ! कति स्वर्णिम आनन्द । मितदाइले आँगनभन्दा केही तल एक बोट मरौटी रोपेका रहेछन् । हिउँदमा हो कि बर्सातमा ? पानी वा स्याहार नपुगेर हुनु पर्छ, मरौटी पूरै ओइलाउने उपव्रmममा देखिन्थ्यो । 

चुरे भावरभन्दा केही हिसाबले माथि । न केही मधेश भन्न मिल्ने न केही भन्न मिल्ने ! यो एकान्त बस्तीमा उभिएको एक्लो घरमा आज मितदाइ र म अन्तरङ्ग संवादको बरियो बाट्न तल्लीन छौँ । हामीबिच जोल्ठिएको स्मृतिका पानाहरूलाई फागुनी हावाले सर्लक्क सर्लक्क पल्टाइरहेको थियो । “यत्रो बर्खपछि बल्ल बल्ल कान्छा आ’छ, अर्को भाले पनि ढाल्नुप¥यो,” मितदाइले भाउजूसामु अध्यादेश तेस्र्याउँदै भने । नजिकैको सुक्खा बारीतिर आफ्नै भावभङ्गी छरेर चरिरहेका भालेतिर नजर पोख्दै र अतिशय प्रेमभाव झल्काउँदै मितदाइले उदारता देखाउँदा म पुलकित बन्न पुगेँ ।  “पर्दैन दाइ, भो पर्दैन । यति भए पुग्छ,” नजिकैको सिलाबरे थालमा मौजुदावस्थामा रहेका केही थान हड्डी र छालातिर आँखा पु¥याउँदै मैले कृत्रिम सदाशयता दर्साएँ । 

“काँ यतिले पुग्छ भन्या ! आज यतै बस्नी हो, म अर्को भाले ढाल्छु,” करिब करिब रित्तिन लागेको ग्यालिनतिर आँखा सोहोर्दै दाइले भने, “आज दाजुभाइ मज्जाले जम्नु पर्छ । मलाई आफ्नो दुःख पोख्न मन लाग्या छ तिमीसँग कान्छा ।” भावुकताको अतल गहिराइबाट सतहमा उतार्दै भने, “सुन्न कान्छा, मेरो दुःख बुझ्ने कोही भएनन् यो संसारमा । तिम्ले त कम्तीमा पनि मेरो दुःख सुन्न सक्छौ नि !”

म गम्भीर बनेँ । 

भान्सास्थलबाट भाउजूको रुग्ण स्वरानुभूति पोखियो, “जे हुनु भै’गो । किन कराइरहनु परेको ? बल्ल बल्ल कान्छा आ’को बेला काँ आफ्नो गन्थन सुनाइरहनुभा’को ? बरु भाले ढाल्ने भए म पानी तताउन थाल्छु ।” घरभित्र पानी उम्लिइरहेको आवाज सुनिँदै थियो । त्यही समय भाउजूले ढोकाबाट चियाउँदै सोधिन्, “अचेल मितबालाई कस्तो छ बाबु ?”

मैले भनेँ, “तगडै हुनुहुन्छ अहिलेसम्म त । गामबेँसी गरिरहनुभएको छ । सल्लेबासको उकाली ओराली मज्जाले छिचोलिरहनुभएको छ । बरु मितबा पोहोर साल ...। बा त हप्ता÷दस दिनसम्मै...। मितबा बित्नुभएपछि बाले आँखा रसाउँदै भनिरहनुहुन्थ्यो– मेरो मित यस्तो हुनुहुन्थ्यो, उस्तो हुनुहुन्थ्यो । हरेक वर्ष कानपुरेको भिरबाट पाट काटेर पठाइदिनुहुन्थ्यो, हरेक बर्खामा तामा पनि कत्ति हो कत्ति...।” म समालिनै सकिनँ, दुवै नजरबाट पिरो आँसु खस्न थाले । भन्दै रहेँ, “यो धुसुनेको मितले ल्याइदिनुभएको तामा हो भन्नुहुन्थ्यो बाले । बाले त्यही तामा मरिण, ग्वाङ, लग्दाह र खाँदको आलो माछासँग पकाएर ख्वाउनुहुन्थ्यो हाम्लाई । त्यो तामा र माछाको स्वाद । आहा ! अहिले पनि मुखबाट पानी रसाउँछ ।”  म एकाएक रोमाञ्चित बन्न पुगेँ । र, तल्तिरको मरौटीको सुक्खा झ्याङतिर नजर दौडियो ।   

यस पटक भने दाइ मौन रहे र उनको आँखा आद्र भए । म पनि मौन रहेँ केही बेरसम्मै । कुनै शब्द व्युत्पन्न भएन । समवेदनारूपी पहिरो खस्यो, केही परको कानपुरेको चुरे धारबाट । बिस्तारै बिस्तारै । 

“तिमेरु एक पटक धुसुनेमा जाऊ न । उहिल्यै त्यो ठाउँमा मितले मलाई दुई बिघा जग्गा दिनुभएको थियो । हामीसँग त्यसको कागजात पनि छन् । त्यो जग्गाको अवस्था के छ, बुझ्नका लागि जाऊ न,” बाले भनिरहनुहुन्थ्यो सधँैभरि । 

हाम्रो चासो र चिन्तनको परिधिभित्र धुसुनेको जग्गाजमिन कहिल्यै समेटिन सकेन । एक दिन बाले व्यङ्ग्यभाव पस्किँदै भन्नुभयो, “मेरा मितको छिमेकमै घर थियो, त्यो बुढो हिन्थाने साइँलाको ।” म धुसुनेमा जाँदा उनी गुनासो गरिरहन्थे, “हजुर ! हेर्दाहेर्दै मेरो जुगबुढाको तीन बिघा जिमिन स्वाहा भयो ।”

बाले सोध्नुहुन्थ्यो रे, “कसरी स्वाहा भयो हजुर, त्यति धेरै जिमिन ?”

हिन्थाने साइँलाले भन्थे रे, “जेठो छोरा बिहान सबेरै उठेर जङ्गलतिर सिकार गर्न जान्छ, माइलो छोरा जाल तुन्न थाल्छ, कान्छाको के ठेगान; कता जान्छ, जान्छ । हेर्दाहेर्दै मेरो जुगबुढाको तीन बिघा जिमिन अरूले नै खाइदियो हजुर !”

अहो ! बुबाको यो प्रसङ्गले अत्यधिक छुन पुग्यो मलाई ।  पाँच वर्षको अन्तरालपछि म फेरि धुसुने पुगेँ । त्यो ठाउँको परिदृश्यमा कुनै नयाँ नौलो रेखाङ्कन कोरिएको थिएन । उही पुरानै भावभङ्गी र सौन्दर्यबिच त्यो ठाउँले आफ्नो गौरवगाथा बताइरहे जस्तो प्रतीत हुन्थ्यो । 

दिउँसोपख पुग्दाखेरि सुनसान देखिन्थ्यो, घरआँगन । गोठनिर गाईभैँसी व्यग्राइरहेका थिए । आँगनवरपर कुखुराहरू टहलिँदै थिए । खसीबाख्रा थिएनन् सायद जङ्गलतिर पातपत्कर च्यापेर विचरण गर्दै थिए होलान् ! 

मैले केही क्षण आँगनछेउको सानो काठको फल्याकमाथि बसेर सञ्चित थकानको सीमारेखालाई खुम्च्याउन चाहेँ । अचानक त्यही समय दाजुभाउजू दुवै झुल्किए ।  “ए, कान्छा पो !” मतिर नजर तेस्र्याउँदै दाइले भने, “खबरै नगरी आयौ त तिमी ।” दाजुमा आश्चर्यका भाव विन्दुहरू अङ्कित देखिए । 

“हैन, खबर गरेरै आउन लाग्या थेँ । केही साधन भएन ।” मैले ठट्टा गर्दै भनेँ, “चिठीपत्र पठाऊँ भने पनि यति नजिक किन पठाऊँ भन्ने लाग्यो ।” 

हिउँदका दिनहरूले सुक्खापनलाई हार्दिक एवं आत्मीय ढङ्गले स्वागत द्वार टाँगिसकेको थियो । जताततै उजाड र सुक्खा । एक बिटा हरियो डाले घाँस गोठमा कैद गाईभैँसीतिर हु¥र्याउँदै दाइले भने, “हो नि कान्छा । अब त टाढा टाढासम्म गएर यी गाईवस्तुलाई घाँस ल्याउन पनि सकिँदैन । त्यो परको खोल्सीमा केही डाले घाँस रोपेको थिएँ, त्यही काटेर ल्याएँ ।”

“पहिले त दाइ....।”

“हो नि, यो ज्यानले केसम्म गरेन र भन्या ! ऊ त्यो परको हात्तीखर्केको भिरबाट कति हरियापरिया घाँस काटेर ल्याइयो... । यो ज्यानलाई हत्केलामा राखेर... ।” मितदाइले भन्दै गए, म सुन्दै गएँ । 

मध्याह्न ढल्किँदै थियो । पहिले पहिले झैँ मितदाइले सदाशयता देखाउँदै भने, “यस पटक तिम्री भाउजूले अलि मलिनो पारिछन् । खैर, केही छैन; मैले हिजो मात्रै दोर्जे माइलाको घरबाट एक ग्यालिन ल्याएको छु । आज त्यही पिएर दाजुभाइ रमाउनु पर्छ ।”

“तर दाजु”

“के तर”

“आज म घरै फर्किऊँ कि भनेको ।”

“मलाई दुःख पर्‍या बेला तिमी घर फर्किने ? कति वर्षपछि आ’का छौ ।” मितदाइको अनुहार करिब १० प्रतिशत जति क्षुब्ध देखिन्थ्यो । 

“के त्यस्तो दुःख पर्‍यो र दाइ ?”

“के परेन भन्न ?” शरीरभरिका सबै रक्तप्रवाह अनुहारमा सोहोर्दै उनले भने, “तेरी छोरीले हाम्लाई नमज्जाले धोका दिई नि, कान्छा !”

“कसले, सेतीमायाले ?”

“हो नि ।”

“के गरी र उनले ?”

“हाम्रो नाकमुखै काटी तेल्ले । हाम्लाई एक वचन सोध्दै नसोधी त्यो भागेर हिँडी ।” दाइको अनुहारभरि व्याप्त क्षुब्धभावले अझै विश्रामरूपी गन्तव्य पहिचान गरिसकेको थिएन, “आखिर, त्यल्ले भनेकी भए हामी अन्माएरै पठाइदिन्थ्यौँ नि । आखिर एक्ली छोरी थिई ।” 

नजिकै थिइन् भाउजू । उनको आँखा टिल्पिलाए जस्तो देखिन्थ्यो । भनिन्, “बाबु, हामीलाई आफ्नी एक्ली छोरी धुमधामले अन्माएर पठाउने विचार थियो तर हामीलाई थाहा पत्तै नदिई...। एक महिनापछि मात्र उनको बिहे भएको खबर आयो ।”  मितदाइले मुहारमा केही छिटा आलोक भित्र्याउँदै भने, “एक महिनापछि भने एक्लै फर्किई । भागेरै हिँडे पनि बाउआमा र आफ्नो घरपरिवारको माया त लाग्दो रहेछ ।”

भाउजूले उछिन्दै भनिन्, “हो, एक्लै फर्किएकी थिई । ज्वाइँ भने आएनन् । घर आउँदाखेरि छोरीले “ज्वाइँलाई पनि भित्र्याउनुहुन्छ भने लिएर आउँछु” भनी । हामीले के भन्ने ? आखिर गइहाली । हामीले बाध्य भएर सहमति जनायौँ र पछि छोरीज्वाइँलाई घरमा बोलायौँ ।”

“धेरै बदलिइसक्यो दाइ, हाम्रो समाज ।” मैले भनेँ, “अबका बच्चाबच्चीलाई हामीले रोक्न सक्दैनौँ । उनीहरूका इच्छा आकाङ्क्षामा तगारो बन्न खोज्यौँ भने हामी आफैँ पछि पर्छौं ।” केही क्षण मैले पनि भावुक रेखा टेक्दै भनेँ ।  

“ए, ए, दाइ आज पनि... ?” मैले हच्किँदै भनेँ । 

“के हुन्छ त ? आज यो एक ग्यालिन दाजुभाइ मिलेर सिध्याउनु पर्छ ।” मितदाइले दुइटा गिलास अघि सार्दै भने, “ज्वाइँ खासै नराम्रा रै’नछ कान्छा । राम्रै लाग्यो । भलाद्मी पनि । त्यही तल पाथीपरानका रहेछन् । जात मिल्यो, खुसी लाग्यो । खै, छोरीले कसरी मन पराई, पराई...।”

यस पटक दाइले घरमुन्तिरबाट केही हदसम्म ओइलाएको एक हाँगा मरौटी टिपेर ल्याए र मरौटी चपाउँदै भने, “भित्र भाले पाक्दै छ, थप्न कान्छा अलिकति थप । के ट्वाल्ल परेर हेरिराख्या भन्या !” मैले पनि मरौटीको एउटा पात चपाउन थालेँ र मरौटीको स्वादमा रमाउन थालेँ । गोधूलिपखको घामले केही परका हात्तीखर्के, हरिथुम्का, तीनतले, च्याउकोटको  डाँडा र महाभारत पर्वत शृङ्खलालाई मधुरो स्पर्श गरिरहेको प्रस्टै देखिन्थ्यो ।