काठमाडौं, फागुन २ गते । काठमाडौं महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै महानगर प्रहरीले जनगुनासोको आधारमा आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने नगरसभाको निर्णय कार्यान्वयन गरिएको स्पष्ट पारेको हो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मापदण्ड विपरितका टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले सम्झाउँदा समेत नमानेको कारणले जबरजस्ति गर्नुपरेको बताउनुभयो । उहाँले कवाड व्यवसायमा रोक लगाउन नगर पहरीले सम्झाउँदा समेत अटेर गर्ने र प्रहरीमाथि आक्रमण गरेका घटनाहरुलाई बङ्ग्याउने काम भएको भन्दै आपत्ति जानउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘स्थानीय जन गुनासोका आधारमा आवास क्षेत्रमा विषेशगरी आवस क्षेत्रमा जोखिम भयो कवाडी हटाउनुपर्यो भन्ने जन गुनासोको आधारमा काठमाडौं महानगरको नगरसभाको बैठकले आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र व्यवस्थापन गर्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने भन्ने निर्णय बमोजिम हामीले विभिन्न स्थानमा रहेको कवाड गोदाममा गएर सम्झाउनेर बुझाउने लगायतका क्रियाकलाप गरेको र महानगरबाट सूचना समेत जारी भएको छ ।’’
नगर प्रहरी प्रमुख पाण्डेले स्थानीयको गुनासो र आवासीय क्षेत्रमा बढेको जोखिम कम गर्न मात्रै कवाड सङ्कलनमा रोक लगाएकोमा सत्य कुरालाई बङ्ग्याएर विभिन्न टिकाटिप्पणी भइरहेको भन्दै दुःख व्यक्त गर्नुभयो । कवाड व्यवसायमा सञ्चालनमा रोक लगाउन सम्झाउन गएको प्रहरीमाथि आक्रमण हुँदा नगर प्रहरी घाइते भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कवाड व्यवसायिहरुले चाँही विभिन्न अदालतमा मुद्दा राखेको र उहाँहरुले राखेको माग समेत खारेज भइसकेको अवस्थामा महानगरभित्रको आवासीय क्षेत्रमा जोखिम हुनेगरी विभिन्न किसिमका अस्थायी मापदण्ड विपरितका टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेको सन्दर्भमा हामीले निरन्तर सम्झाउँदा समेत नमानेको र उहाँहरुले अटेर गरेको र हामीले हटाउन जाँदाखेरि जबरजस्ति गर्ने र विभिन्न किसिमका हातहतियार लिएर नगरप्रहरीमाथि आक्रमण गरेको र त्यो आक्रमण गरेको विषयलाई लिएर सत्य कुरालाई बङ्ग्याएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।’’
उहाँले अझैपनि धेरै ठाउँमा महानगरको आदेशलाई अटेर गरेर कवाड व्यवसाय सञ्चालन हुँदै आएको बताउनुभयो । महानगर प्रहरी स्थानीय तहको प्रहरी भएका कारण स्थानीय तहको आदेश र निर्णय मात्र कार्यान्वयन गरेको उहाँको भनाइ छ ।
उहाँले चैत÷वैशाखमा आउने हुरिले टहराहरु उडाएर थप जोखिम निम्त्याउने भन्दै समयमै टहराहरु हटाउन स्थानीयलाई आग्रह गर्नुभयो । कवाड हटाउन अझै अटेर गरेको अवस्थामा महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुने उहाँको भनाइ छ ।