• ३ फागुन २०८१, शनिबार

अब महिनाको दुई पटक मात्रै सरुवा

blog

काठमाडौँ, फागुन २ गते । दैनिक रूपमा हुने कर्मचारी सरुवाले प्रशासनिक अस्थिरता बढ्दै गएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रणाली बदलेको छ । 

कर्मचारी सरुवा प्रणालीलाई छिटो, छरितो व्यवस्थित, प्रभावकारी र न्यायोचित बनाउने उद्देश्यले अबदेखि मन्त्रालयले १५ दिनको अन्तरालमा हरेक महिना दुई पटक मात्र सरुवा गर्न थालेको हो । गएको माघ महिनादेखि यो प्रणाली सुरु गरिएपछि मन्त्रालयमा सरुवाका लागि मन्त्री र सचिवको कार्यकक्ष, कर्मचारी प्रशासन महाशाखा र शाखामा भिडभाडसमेत कम हुँदै गएको मन्त्रालयले जनाएको छ । 

दैनिक हुने कर्मचारी सरुवा प्रणालीले प्रशासनिक अनियमितता, असन्तुष्टि र आलोचना बढ्दै जान थालेपछि मन्त्रालयले १५ दिनको अन्तराल अर्थात् महिनाको दुई पटक मात्र कर्मचारी सरुवा गर्न थालेको हो । मन्त्रालयका सचिव रविलाल पन्थले दिनदिनै कर्मचारी सरुवामा अल्झिँदा सङ्घीयतासम्बन्धी काम सुस्त बन्दै गएकाले यस्तो प्रणाली थालेको जानकारी दिनुभयो । 

गत माघ महिनामा पनि अत्यावश्यक भएका कर्मचारीको दुई पटक मात्र सरुवा गरेको छ । दुई पटक गरी ३६ जना कर्मचारीको मात्र सरुवा गरेको मन्त्रालयले जनाएको छ । “१५ दिनको अन्तरालमा कर्मचारी सरुवा गर्दा कर्मचारीले सरुवा आवश्यकताले मागेको हो वा अनावश्यक माग गरेको हो भन्ने बारेमा औचित्य पुष्टि गर्न समय पर्याप्त हुन्छ,” सचिव पन्थले भन्नुभयो । 

उहाँका अनुसार अहिले कर्मचारीको नियमित सरुवा गर्ने समय नभएकाले मन्त्रालयले आवश्यकबाहेक अन्य कर्मचारीको सरुवा गरेको छैन । कर्मचारीको आकस्मिक व्यवस्थापन गर्न, व्यक्तिगत र पारिवारिक समस्याले सम्बन्धित कार्यालयमा जान अप्ठ्यारो परेको कर्मचारीको मात्र सरुवा हुने गरेको छ । 

अत्यावश्यकबाहेक सरुवा प्रक्रियाको निर्णय महिनाको १ देखि ३ गते र १५ देखि १८ गतेभित्रमा हुन्छ । यो व्यवस्थाले कर्मचारी सरुवा प्रणालीमा देखिएको अन्योल र असन्तुष्टिलाई न्यूनीकरण गर्न केही हदसम्म भए पनि सहयोग पुगेको छ । सरुवाका लागि कर्मचारीले मन्त्रालयमा दैनिक निवेदन दिन सकिन्छ तर सरुवाका लागि मन्त्रालयमा आएका निवेदनलाई सङ्कलन गर्ने र महिनाको दुई पटक मात्र सरुवाको नीतिगत निर्णय गरी कार्यान्वयन गर्न थालिएको मन्त्रालयले जनाएको छ । 

कतिपय कर्मचारीहरू लामो समयदेखि एउटै स्थानमा कार्यरत रहनु र अन्य कर्मचारीहरूले पटक पटक प्रयास गर्दा पनि सरुवा नपाउनुलाई ध्यानमा राख्दै नयाँ प्रणाली लागु गरिएको सचिव पन्थले बताउनुभयो । नयाँ प्रणालीले समय र स्रोतको दुरुपयोग रोकिएको, मन्त्रालयको प्रतिष्ठा सुधार्न सहयोग पुगेको बुझाइ मन्त्रालयको छ ।  नेपाल सरकारका पूर्वसचिव पूर्णचन्द्र भट्टराईले दैनिक हुने कर्मचारी सरुवाको अन्त्य गर्न आफूहरूले मन्त्रालयलाई समय समयमा सुझाव प्रदान गर्दै आएको भन्दै ढिलै भए पनि यस व्यवस्था कार्यान्वयन हुनुले प्रशासनिक स्थिरता कायम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार दैनिक हुने सरुवा प्रणालीको अन्त्यले कर्मचारी वृत्तमा अन्योल, प्रशासनिक अस्थिरताबाट मुक्ति पाइने र कर्मचारी प्रशासनमा स्थिरता कायम गर्ने छ ।  

शाखा अधिकृतको सरुवा मन्त्रालयका प्रशासन महाशाखाका सहसचिवस्तरीय निर्णयबाट, उपसचिवको सरुवा मन्त्रालयका सचिवबाट र सहसचिवको सरुवामा मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्बाट र सचिवको सरुवा सिधै मन्त्रीपरिषद्ले गर्ने व्यवस्था छ । मन्त्रालयले यसअघि कर्मचारीको सरुवा मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरेको छ । उक्त मापदण्ड रायका लागि कानुन मन्त्रालयमा पठाइएको छ ।