• २९ माघ २०८१, मङ्गलबार

नागको चित्रले जन्माएका मूर्तिकार

blog

 हरिप्रसाद कोइराला 

उर्लाबारी, माघ २९ गते । मोरङको बेलबारी–११, लक्ष्मीमार्गका गणेश लामा सबैखाले मूर्ति र सालिक बनाउन सिपालु हुनुहुन्छ । कलाकारितासम्बन्धी कुनै औपचारिक तालिम, शिक्षा हासिल नगरेका लामाले कक्षा १० सम्म मात्र अध्ययन गर्नुभएको छ । भोजपुरको तत्कालीन ओख्रेमा जन्मिएका लामाले बाल्यकालमा आफ्ना साथीहरूले नागपञ्चमीका दिन नाग टाँसेर खुबै पैसा कमाएको देख्नुभयो । त्यसपछि गुराँसको काठमा नागको चित्र खोप्न थाल्नुभयो । महिनौँ लगाएर नागको चित्र भएको आकर्षक फर्मा तयार भयो ।  

फर्मालाई मसीमा चोब्दै पहाडे कागजमा छाप्नुभयो र गाउँमा गुरु पुरोहितलाई बिक्री गर्नुभयो । लामाको छोरो भए पनि आफैँ नाग टाँस्न हिँड्नुभयो । लामा त्यसबेला १२/१३ वर्षको मात्र हुनुहुन्थ्यो । नाग टाँस्ने शृङ्खला धेरै वर्षसम्म चल्यो । लामाको नागले झन्डै एक दशक राम्रो व्यापार ग¥यो । विद्यालयमा होस् या चौतारोमा उहाँको प्रशंसा भयो ।  कहिले विद्यालयका लागि माटाको सरस्वतीको मूर्ति बनाउने, कहिले काठमा कला भर्ने गर्दागर्दै उहाँ कला क्षेत्रमा प्रवेश गरिसक्नुभएको थियो । सम्भावनाका खोजीमा लामा २०५१ सालमा मोरङको तत्कालीन डाँगीहाट गाविसको लक्ष्मीमार्गमा बसाइँ सर्नुभयो । तराई झरेपछि विवाह, व्रतबन्ध, पुराण आदिका ब्यानर लेख्ने, भित्ता लेखन गर्ने जस्ता काममा जोडिनुभयो । 

लामा हाल ठुला ढुङ्गामा देवता र राजनेताको आकृति निकाल्नुहुन्छ । कुनै समय फाइबरका मूर्तिको माग उच्च थियो । अहिले मानिसहरू ढुङ्गा वा धातुका मूर्ति तथा सालिक खोज्छन् । त्यसैले बजारबाट आउने माग अनुसार आफू लागेको लामाले बताउनुभयो । लामाका चित्र र मूर्ति संसारका धेरै देशमा पुगिसकेका छन् । पुरस्कार र सम्मान पनि उत्तिकै प्राप्त गरिरहनुभएको छ । 

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बेलबारीको लक्ष्मीमार्गमा उहाँको घर छ । त्यही घरमा लामाले २०६७ सालदेखि सखी आर्ट ग्यालरी सञ्चालन गरिरहनुभएको छ । कलाकर्मबाहेक उहाँको अर्को पेसा छैन । । मूर्ति खोप्नेबाहेक लामा गाउँकै विद्यालयमा चित्रकला र मूर्तिकलासम्बन्धी सिप सिकाउनुहुन्छ । कुनै समय कलाको मूल्य थिएन तर हाल कलाकारले पनि सम्मानित जीवन पाएको लामाको भनाइ छ । लामा हाल बेलबारी प्रज्ञा–प्रतिष्ठानको उपाध्यक्ष हुनुहुन्छ ।